किन घट्यो मिस नेपालमा सहभागिता ?

रिपोर्ट नेपाल | 2019 Mar 16 | 09:19 am 1354

नेपालगञ्ज, २ चैत : कोहलपुर नगरपालिका–१०, विद्यानगरकी पूर्णिमा गिरी सन् २०१८ को मिस नेपालमा नेपालगन्जबाट छनोट भइन्। उनी टप ३० मै सीमित भइन् ।

मिस नेपाल २०१९ को नेपालगन्ज अडिसनमा शुक्रबार फेरि सहभागी भइन्। किचन हट होटलको अडिसनपछि उनले भनिन्, ‘पहिलेको भन्दा धेरै कुरामा सुधार भएको छ । कन्फिडेन्स पनि बढेको छ । जजले पनि राम्रो भयो भन्नु भएको छ ।’

उनलाई आमा राधाले मिस नेपालका लागि प्रोत्साहित गरेकी छन् । गत वर्ष नेपालगञ्ज अडिसनमा सहभागी १८ मध्ये उनी मात्रै अर्को चरणका लागि छनोट भएकी थिइन् । यस पटक पनि अडिसन राउन्ड पार गर्नेमा उनी आशावादी देखिइन्। नेपालगन्जको अल्पाइन कलेजमा बीबीए सातौं सेमेस्टरकी छात्रा गिरी मोडलिङ क्षेत्रमा लागेर सामाजिक कार्य गर्ने बताउँछिन् ।

६ महिनाअघि नेपालगञ्जमा आयोजना गरिएको फेस अफ नेपालगञ्जमा मिस डिभा र अर्गनाइजर च्वाइस टाइटल जितेकी नेपालगञ्ज–१, धम्बोझीकी अञ्जली शाक्यको भने मिस नेपालका लागि हाइट नै पुगेन । ‘हाइट बढाएर अर्को वर्ष आउनु भन्नुभयो’, उनले अडिसनको अनुभव सुनाइन् ।

फेस अफ नेपालगन्जको मिस सपोर्टिभ टाइटलकी विजेता नेपालगञ्ज–१०, आदर्शनगरकी पूजा केसी र नेपालगञ्ज–१०, भृकुटीनगरकी आयुष्का जोशीलाई पनि हाइटले नै धोखा दियो। मिस नेपालमा सहभागी हुन १२ कक्षा उत्तीर्ण, १९ वर्ष पूरा भई २५ वर्ष ननाघेको र पाँच फिट चार इन्च अग्लो हुनुपर्ने प्रावधान छ ।

मिस नेपालको २५ वर्षे यात्रामा नेपालगञ्जमा यो चौथो अडिसन हो । यो अडिसनका लागि नेपालगन्ज जेसिसले सहकार्य गरेको थियो। इभेन्टका मिडिया संयोजक प्रज्ज्वल श्रेष्ठ बन्द र कलेजमा परीक्षा चलिरहेकाले उल्लेख्य सहभागिता नभएको बताउँछन् । अडिसनमा नौ जना युवती मात्र आए ।

मिस नेपाल आयोजक दी हिडेन ट्रेजरका निर्देशक प्रमोद कंसाकारका अनुसार पहिलो अडिसनमा दुईजना, दोस्रोमा १६, तेस्रो गत वर्ष १८ जना अडिसन राउन्डमा सहभागी भएका थिए । कंसाकार भन्छन्, ‘जति जना आए पनि हामी नेपालगञ्जमा हरेक वर्ष छनोट जारी राख्छौं । राजधानीभन्दा बाहिरकाले पनि अवसर पाउनुपर्छ भन्ने हाम्रो लक्ष्य र उद्देश्य हो ।’

विगत चार वर्षदेखि द हिडेन ट्रेजरले नेपालगञ्ज, बुटवल, धनगढी, पोखरा, वीरगञ्ज, चितवन, बिर्तामोड र धरानमा क्षेत्रीयस्तरको अडिसन लिइरहेको छ । मिस सुपर नेसनल २०१९ महिमा सिंह, मिस अर्थ रोशन खत्रीले मिस नेपाल द हिडेन ट्रेजरका निर्देशक प्रमोद कंसाकरले नेपालगञ्ज अडिसनमा छनोट गरेका थिए । अन्नपूर्ण पोष्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.