किन गरे आइजीपीले मार्सलको गठन

| 2019 Jul 20 | 05:37 pm 3416

काठमाडौं, साउन ४: नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले केही दिन अघि गठन गरेको मार्सल टिमलाई सकृय बनाएका छन् । प्रहरीका कर्मचारीले आचरण विपरित कार्य गरेको व्यापक चर्चा चलेपछि महानिरीक्षक खनालले मार्सल टिम खडा गरेका हुन् ।

मुख्यालयका प्रहरी उपरीक्षकको कमाण्डमा गठन गरिएको मार्सल टिमको नाम गोप्य राखिए पनि टिमले उपत्यका भित्र सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको बुझिएको छ । महानिरीक्षक खनालको निर्देशनमा परिचालन हुने मार्सल टिमलाई जतिसुकै बेला पनि जुनसुकै कार्यालयको निरीक्षण गर्ने अनुमति दिइएको छ ।

मार्सल टिमले प्रहरी कर्मचारीले प्रहरी नियमावली विपरित र आचरण विपरित काम गरे तत्काल महानिरीक्षक खनाललाई जाहेर गर्ने र त्यसैका आधारमा उजुरी छानबिन शाखाले विस्तृत बुझेर कारबाहीका लागि सिफारिस गर्ने बुझिएको छ ।

ओम विक्रम राणा महानिरीक्षक भएका समयमा पनि उनले तत्कालिन १ नम्बर गणका डिएसपी विक्रमसिंह थापाको कमाण्डमा मार्सल टिम गठन गरेका थिए । त्यस बेला भने अहिले जस्तै नाम गोप्य नराखेर मार्सल टिम लेखेको हाफ ज्याकेट लगाएर टिम निरीक्षणमा निस्कने गरेको थियो ।

विक्रमसिंह थापाको कमाण्डमा रहेको मार्सल टिमले थुप्रै प्रहरी कर्मचारीलाई कारबाहीको सिफारिस गरेको थियो । वर्तमान महानिरीक्षक खनालले गठन गरेको मार्सलले कस्तो काम गर्ने हो त्यो हेर्न बाँकी नै रहे पनि दुई प्रभागमा भने छड्के चेकजाँच गरेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.