काठमाडौं, भदौ १५: गरिबी निवारण कोषले ०६० देखि सञ्चालन गर्दै आएका कार्यक्रमको डाटा भएको सफ्टवेयरमा क्षति पुगेको छ। सफ्टवेयर बिग्रिँदा गरिबी निवारण कोषको ३१ अर्ब रुपैयाँको हिसाबकिताब नष्ट भएको छ । कोषले आन्तरिक प्रयोजनमा उपयोग गर्दै आएको एमआइएस नामको सफ्टवेयर बिग्रिँदा हिसाबकिताब राखिएका डाटा नष्ट भएको हो।
०६० देखि कोषले सञ्चालन गरेका सबै कार्यक्रमको विवरणसहितका डाटा नष्ट भएका छन्। कोषले सञ्चालन गर्दै आएका परियोजनाहरूको म्याद सकिन झन्डै ५ महिना बाँकी छँदा सफ्टवेयर बिग्रिएको छ। आगामी डिसेम्बर (पुस)मा कोषका परियोजना सकिनेछन्। गत ३० साउनमा एक्कासि सफ्टवेयरमा क्षति पुगेको कोषको भनाइ छ।
अहिलेसम्म डाटा पुनस्र्थापनाको प्रयास असफल हुँदै आएको खबर नयाँ पत्रिका दैनिकमा छ । कोषका प्रमुख कार्यकारी निर्देशक नहकुल केसीले सफ्टवेयरमा क्षति हुँदा कोषमा समस्या आएको बताए। तर, विस्तृत विवरण भने बताउन चाहेनन्।
कोषले सूचना व्यवस्थापन प्रणाली अधिकृत मोहन जिसीलाई दुईपटक स्पष्टीकरण सोधिसकेको छ। ३ भदौमा पहिलोपटक कोषमा रहेको सूचना व्यवस्थापन प्रणालीअन्तर्गतको एमआइएस सिस्टम के कति कारणले क्षति भएको भन्दै स्पष्टीकरण सोधिएको थियो। ५ भदौमा जिसीले कार्यकारी निर्देशक केसीलाई जवाफपत्र बुझाएका पनि थिए। तर, चित्तबुझ्दो जवाफ नआएपछि बिहीबार दोस्रोपटक स्पष्टीकरण सोधिएको छ। ‘तपार्इंलाई के कति कारणले निलम्बन नगर्नुपर्ने हो’ भन्दै पुनः स्पष्टीकरण सोधिएको हो। जवाफ तीन दिनभित्र दिन भनिएको निर्देशक केसीले बताए।
जिसीले भने सफ्टवेयर डाटा रिकभर गर्न १५ लाखभन्दा बढी आवश्यक पर्ने बताउँदै आएका छन् । उनले उक्त रकम उपलब्ध गराइदिन लेखालाई आग्रह पनि गरेका छन् । तर, लेखाले पटक–पटक सफ्टवेयरकै नाममा एक करोडभन्दा बढी रकम खर्च भइसक्दा पनि डाटा सुरक्षित नभएकाले क्षतिको अध्ययन नभई रकम दिन नसक्ने बताएको छ । जिसीले लेखासँग रकम मागेपछि र लेखाले नदिएपछि नै सफ्टवेयरमा समस्या भएको विषय बाहिरिएको हो।
संस्थालाई बाँडेको १९ अर्बको विवरण नष्ट
सफ्टवेयर बिग्रिँदा कोषले अहिलेसम्म ६२ जिल्लाका ३२ हजारभन्दा बढी सामुदायिक संस्थालाई वितरण गरेको १९ अर्ब रुपैयाँको हिसाबकिताब नष्ट भएको छ। कोषले ती संस्थालाई रिभल्विड फन्डका रूपमा करिब १९ अर्ब रुपैयाँ वितरण गरेको छ। सफ्टवेयरमा क्षति पुग्दा ती संस्थालाई कहिले कति रकम दिएको हो भन्ने विवरणसमेत कोषमा छैन। ०६० देखि अहिलेसम्म कोषले ३१ अर्ब रुपैयाँ खर्च गरेको छ । त्यही ३१ अर्ब रुपैयाँमध्ये १९ अर्ब रुपैयाँ ६२ जिल्लाका ३२ हजार सामुदायिक संस्थालाई अनुदान दिइएको हो । सफ्टवेयरमा क्षति हुँदा अहिलेसम्म गरेको लगानीको विवरण नै डुब्ने अवस्था आएको कोष सञ्चालक समितिका सदस्य नारायण कोइरालाले बताए।
अफिसियल इमेलका कागजात पनि नष्ट
सफ्टवेयरमा क्षति पुग्दा अहिलेसम्म प्रयोग भएका कागजात पनि नष्ट भएका छन्। लिखित रूपमा आदानप्रदान भएका पत्रबाहेक इमेलमार्फत् आदानप्रदान भएका पत्रहरू नष्ट भएका छन् । कोषमा कार्यरत सबै कर्मचारीका अफिसियल इमेल तथा कोषको आधिकारिक इमेल पनि नष्ट भएको हो।
सफ्टवेयर क्षतिबारे सरकारलाई जानकारी
सफ्टवेयर क्षतिबारे कोषले प्रधानमन्त्री कार्यालय, सूचना प्रविधि मन्त्रालय र महानगरीय प्रहरी वृत कालिमाटीलाई पनि जानकारी गराएको छ । ३ भदौमा पत्र लेखेर जानकारी गराइएको हो । कोष स्रोतका अनुसार सूचना तथा प्रविधि मन्त्रालयको एक टोलीले अनुसन्धान पनि गरिसकेको छ। अनुसन्धानका लागि मन्त्रालयबाट कोष कार्यालयमा गएका कर्मचारीले सफ्टवेयरको पर्याप्त व्याकअप नहुँदा र कमजोर सुरक्षा प्रणालीका कारण क्षति भएको बताएका छन्।