काठमाडौं, चैत १२: कोरोना भाइरस संक्रमणको जोखिम फेरि बढेपछि उपत्यकाका तीन जिल्लामा उच्च सतर्कता अपनाइएको छ। जनस्वास्थ्य मापदण्ड पालना नगर्ने व्यक्तिलाई कारबाही गरिने भएको छ।
काठमाडौं उपत्यकामा केही दिनयता संक्रमितको संख्या वृद्धि भएपछि जनस्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको हो। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार प्रेस विज्ञप्तिमार्फत संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने जनाएका छन्। पछिल्लो २४ घण्टामा बुधबार काठमाडौंमा ५३ जना नयाँ संक्रमित फेला परेका छन्। ललितपुरमा ८ र भक्तपुरमा २ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै संक्रमण बढ्न नदिन सार्वजनिक स्थलमा भीडभाड नगर्न अनुरोध गरेका छन्। घरबाहिर तथा सार्वजनिक स्थान एवं सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रूपमा मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट