काठमाडाैं, जेठ ९ः कोभिड–१९ को दोस्रो लहरले निर्माणाधीन ६ हजारभन्दा धेरै पूर्वाधार आयोजनाको काममा प्रत्यक्ष असर देखापरेको छ। पूर्वाधार निर्माणको मुख्य सिजनमै कोभिड–१९ को दोस्रो लहर चर्किएसँगै निर्माणाधीन आयोजनाको काम प्रत्यक्ष रूपमा रोकिएका हुन्। वैशाखदेखि जेठ महिनामा नेपालका अधिकांश सडक कालोपत्रे तथा पुलको ढलान कार्य गरिन्छ। यही सिजनमा कोभिड–१९ को दोस्रो लहरले आक्रान्त पारेसँगै निर्माणाधीन आयोजनाको काम प्रभावित भएको छ। कोभिड–१९ को दोस्रो लहरले राष्ट्रिय गौरवका आयोजनादेखि अन्य ठूला–साना सबै खाले आयोजना प्रभावित भएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह कोभिड–१९ को दोस्रो लहरले निर्माणाधीन ६ हजारभन्दा धेरै आयोजनाको काम प्रभावित भएको बताउँछन्। कोभिड–१९ को दोस्रो लहरले अधिकांश परियोजनाको काम ठप्पजस्तै छ,’ उनले भने, ‘क्याम्प नै खडा गरेर निर्माणाधीन आयोजनाबाहेक अन्यमा कामको गति निकै कम छ।’ ६ हजार आयोजना सबै खाले हुन्, जसमा भौतिक पूर्वाधार मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ, सहरी विकास, पर्यटन, खानेपानी लगायत विकासे आयोजनाका समष्टिगत आयोजना हुन्।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै विकासे पूर्वाधार निर्माण गर्दा अपनाउनुपर्ने सावधानीसम्बन्धी मापदण्ड वैशाख २१ गते जारी गरेको थियो। सिसिएमसीले जारी गरेको मापदण्डमा सम्बन्धित आयोजनाले नै आवासीय कामदार राखी अनिवार्य रूपले स्वास्थ्य मापदण्ड पालना गर्दै कार्य सञ्चालन गर्न गराउनुपर्ने उल्लेख छ।
तर नेपाल निर्माण व्यवसायी महासंघ सिसिएमसीले ल्याएको मापदण्डकै कारण पूर्वाधार निर्माण क्षेत्रमा श्रमिकहरू काम गर्न डराउने स्थिति उत्पन्न भएको बताउँछ। अध्यक्ष सिंह यस्तो महामारीको बेला जोखिम लिएर पूर्वाधार निर्माणको काम गर्न अप्ठेरो हुने बताउँछन्। ‘ज्यानकै बाजी थापेर काम गर्ने अवस्था छैन,’ उनले भने, ‘जबर्जस्ती गरेर आयोजनाको काम अघि बढाउँदा पनि ठूलो समस्या आउने गर्छ।’ अध्यक्ष सिंह कोभिड–१९ ले कामदार साइट लैजान गाह्रो भएको र निर्माण सामग्रीको पनि चर्काे अभाव खेप्नुपरेको बताउँछन्। नागरिक दैनिकबाट