काठमाडौं, बैशाख २४ः नेपाली कांग्रेस नुवकोटका सभापति जगदिश्वरनरसिंह केसीले संकटका बेला सबै नेता कार्यकता एक भएर अघि बढ्न आवश्यक रहेको बताएका छन् । सभापति केसीले उक्त कुरा हालै भर्चुअलबाट भएको जिल्ला कार्य समितिको बैठकमा बताएका हुन । उनले यतिबेला कोरोनाका कारण देश नै आक्रान्त बनेकोले हामीहरु दलगत स्वार्थ भन्दा माथि उठेर सहयोग गर्न समेत आम कार्यकतालाई आग्रह समेत गरेका छन् ।
बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, पूर्व सभापति, जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिका नगरपालिका पार्टी सभापति, स्वास्थकर्मी, नागरिक समाजका ब्यक्तित्व, सम्पर्क समितिका अध्यक्ष, वडा अध्यक्ष लगायतको उपस्थितिमा सहयोगका लागि जुट्न अपिल गरेको हो ।
कोभिड १९ बाट उत्पन्न संकट र त्यसको समाधानका उपाय तथा त्यसका लागि नेपाली कांग्रेस पार्टीले खेल्नसक्ने भूमिकाका सन्दर्भमा गम्भीर छलफल भएको थियो । यस्तो महामारीमा सरकारको अदूरदर्शिता र बेवास्ताका कारण महामारीबाट आक्रान्त नागरिकको जीउज्यानको सुरक्षा गर्नु हामी सबैको कर्तब्य हो भन्ने निश्कर्ष पनि बैठकले निकालेको सभापति जगदिश्वरनरसिंह केसीले बताए ।
नेपाली कांग्रेस नुवाकोटले जिल्ला पार्टी कार्यालयलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्न सकिने भन्दै उक्त पार्टी कार्यालयको भवन र कम्पाउन्ड अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग हुने पनि बैठकले निर्णय गरेको छ ।
सबै राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी, पत्रकार, शिक्षक ,राष्ट्रसेवक कर्मचारी , सुरक्षाकर्मी र बिषेशगरी फ्रन्ट लाइनमा रहेर लडिरहेका स्वास्थकर्मीमा उच्च मनोबलका साथ एक भएर लड्न नेपाली कांग्रेस नुवाकोटले बिशेष अपिल गरेको छ ।
महामारीबाट आक्रान्त नागरिकको जीवनरक्षाका लागि आफ्नो तहबाट सक्दो योगदान पुर्याउनु नेपाली कांग्रेसको राजनीतिक एवं सामाजिक कर्तव्य रहेको यथार्थलाई हृदयंगम गरी जिल्ला पार्टी कार्यालयलाई कोभिड अस्थायी अस्पताल बनाउने निर्णय भएको जनाइएको छ ।
(निर्णयको पूर्णपाठ यसप्रकार छ)
१) जिल्लामा कोविड अस्पतालको अभाव हुन नदिन पार्टी अफिसलाई डिसिएमसीले नै अस्थायी कोविड अस्पाताल संचालन गर्ने भए आवश्यक पूर्वाधार तयार गरी तीन महिनाका लागि उपलब्ध गराउने । यस विषयमा प्रमुख जिल्ला अधिकारीलाई सहमति पत्र दिइसकिएको हुँदा प्रजिअ र डिसिएमसीसंग थप छलफल गर्ने । सरकारले सदासयताका साथ सहकार्य गर्न चाहेमा त्यसै गर्ने ।
२) सरकारले प्रयोग नगर्ने भए पार्टी आफैँले अस्थायी आइसोलेसन केन्द्र सञ्चालन गर्ने । यसका लागि अन्य पार्टीका नेता र सरोकारवालाहरूसंग छलफल गरिने ।
३) पार्टी आफैँले गर्ने गरी अनुमति पाएमा हामी सबै मिलेर अघि बढ्ने र सरकारी संयन्त्रसँग समन्वय गरी आइसोलेसन केन्द्र सञ्चालन गर्ने ।
४) पार्टीका सबै तहका नेता, कार्यकर्ताले आ–फ्नो ठाउँबाट योगदान गर्न र प्राप्त जिम्मेवारी वहन गर्न तयार रहन सबैमा आग्रह गर्ने ।
५) यो प्रारम्भिक बैठक भएकोले थप निर्णय पदाधिकारीहरू र आवश्यक जिम्मेवार नेताहरूसँगको बैठक र छलफलबाट निर्णय लिई सबैलाई जानकारी गराई कार्यान्वयन गर्ने ।
