कास्की, जेठ १५: नेपाल प्रहरीमा जवान देखि अधिकृतसम्मलाई आफ्नो जिल्लामा नखटाउने निति भएपनि एकजना डिएसपीलाई भने त्यो निति लागू भएको छैन । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार प्रहरी निरीक्ष हुँदा देखि अहिलेसम्म जन्मथलो कास्की बस्ने सौभाग्य प्राप्त गर्ने डिएसपी रविन्द्र गुरुङ हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत गुरुङको घमण्ड र कार्य शैली हेर्ने हो भने वर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालले ल्याएको समुदाय प्रहरी साझेदारी कार्यक्रमको ठिक उल्टो गर्ने गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र संघिय संसदका सांसद एवम् नेकपा नेता देव गुरुङको नाम भजाएर कास्कीमा कार्यरत डिएसपी रविन्द्र गुरुङले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई आफू अनुकुल बनाएर रकम असुल्ने र व्यवसायिलाई सताउने कार्यमा उपयोग गरेका छन् ।
चेन अफ कमाण्डलाई रौं बराबर नमानी एसपीको समेत मान मर्दन गर्ने गरेका डिएसपी गुरुङको छत्रछाँया र लगानीमा खुलेको रातोघर नामको रेष्टुरेन्ट कास्कीमा चर्चाको विषय बनेको थियो । अन्य व्यवसायिलाई रातको ११ बजे बन्द गर्न निर्देशन दिने डिएसपी गुरुङको लगानी भएको रातोघरमा बिहान ३ बजेसम्म खोलेर केटी नचाउने गरिन्थ्यो । डिएसपी गुरुङका विषयमा विभिन्न संचार माध्यममा समाचार आउन थालेपछि हालका लागि रातोघर रेष्टुरेन्टबाट उनी बाहिरिएको बुझिएको छ ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय भित्र जिम हल बनाउने र विभिन्न स्थानमा सिसि कयामरा जडान गर्ने नाममा डिएसपी गुरुङले पैसा पठाउन थालेपछि पोखराका व्यवसायी आतंकित भएका छन् । डिएसपी रविन्द्र गुरुङले हरेक कृयाकलाप लेनदेनमा मात्र गरेको कार्यदेखी आजित एसपी ओम राना सरुवा भएपछि राहत महसुस गरेका छन् । एसपी रानालाई उनले विभिन्न रेष्टुरेन्टमा बसेर गरेको मानमर्दन पनि रानाले थाहा नपाएका होइनन् ।
सधै नेताको रबाफ देखाउने भएका कारण एसपी राना यो एक वर्षे कार्यकाल निरिह जस्तै बनेर बसेको जुनियर प्रहरी अधिकृत बताउँछन् । नेपाल प्रहरीमा व्यवसायिक र इमान्दारीता बोकेका एसपी दानबहादुर कार्की कास्कीको प्रमुख बनेका छन् । डिएसपी गुरुङको कृयाकलाप कार्कीले कसरी लिने हुन् त्यो भने हेर्न बाँकी नै छ ।
डिएसपी गुरुङको चौतर्फिबाट विरोध र उजुरी परेपछि संघिय प्रहरी ४ नम्बर प्रदेशले छानविन समिति गठन गरेको छ । छानविन समितिले आफूलाई केही गर्न नसक्ने भन्दै पृथ्वीसुब्बा गुरुङ र देव गुरुङको बलमा कुनै राम्रो जिल्लाको इन्चार्य भएर जाने गफ हाक्दै डिएसपी गुरुङ हिडेका छन् । कास्कीमा रहँदा प्रहरीको निगरानीमा रहेका एक लामा थरका व्यक्तिसँग राम्रै लाभ लिएका डिएसपी गुरुङका विषयमा विभिन्न संचार माध्यममा समाचार आएपछि पत्रकारलाई मिलाउने भन्दै लामा सहित अर्का श्रेष्ठ थर भएका व्यक्ति काठमाडौं हिडेको समाचार स्रोतले बताएको छ ।