काश्‍मीर विवादले भारत – पाकिस्तान युद्ध नजिक, अब के हुन्छ ?

| 2019 Feb 27 | 07:46 am 1926

काठमाडौं, फागुन १५ : भारत प्रशासित कश्मीरको पुलवामामा भएको आतंकवादी हमलाको दुई साता नपुग्दै भारतले पाकिस्तानी भूभागमा मंगलबार हमला गरेको छ।

पाकिस्तानले हमलाबाट कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको दावी गरेको छ भने भारतले भने कयौँ आतंकवादीहरू मारिएको दावी गरेको छ। भारतले यसलाई ‘नन मिलिटरी प्री इम्प्टिभ स्ट्राइक (सैन्य क्याम्प तथा मानव वस्ती लक्षित नगरी खुला ठाउँमा हुने हमला) भनेको छ।

अधिकांश भारतीय मिडियाहरूले दिनभर आतंकवादी समूह जैश–ए–मोहम्मदको अखडामा भारतीय सेनाले गरेको हवाई हमलामा ठूलो हताहती भएको खबर दिइरहेका छन्। कसैले ४० भन्दा बढी आतंकवादीको नामावली नै भेटेको दावी गरेका छन् भने कसैले ३०० देखि ४०० जनाको मृत्यु भएको दावी गरेका छन्। सरकारी स्रोतहरूलाई उद्‍धृत गर्दै लेखिएका यी खबरको स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन।

मंगलबार बिहान ५ बजेर १२ मिनेटमा पाकिस्तानका तर्फबाट समाचार ब्रेक भयो- भारतीय वायु सेनाले लाइन अफ कन्ट्रोल पार गर्‍यो। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्विटरमा खबर ब्रेक गरे- पाकिस्तानी सेनाले प्रत्याक्रमण गरेपछि भारतीय सैन्य विमान पछि हट्यो।

पाकिस्तानी सैन्य प्रवक्ता गफूरले अर्को ट्‍विटरमार्फत दावी गरे- भारतीय सैन्य विमान मुजाफरबाद क्षेत्रबाट पाकिस्तानभित्र घुसेको थियो। पाकिस्तानी सेनाले तत्काल जवाफी कारबाही चालेका कारण भारतीय सेना भागे। र, भाग्ने क्रममा हतार हतार बालाकोट नजिकै कुनै विस्फोटक पदार्थ खसाए। कुनै मानवीय तथा भौतिक क्षति भएन।

केही घण्टालगत्तै भारतका तर्फबाट विदेश सचिव विजय गोखरेले आक्रमणबारे जानकारी दिँदै बालाकोटमा रहेको जैश ए मोहम्मदको सबैभन्दा ठूलो ट्रेनिङ क्याम्पलाई निशाना बनाएर हवाई हमला भएको बताए। भारतलाई लक्षित गरी आत्मघाती हमलाको तयारी भइरहेको सूचनाका आधारमा नियन्त्रण रेखा पार गरे हमला गर्नु जरुरी भएको उनको तर्क छ।

अब के हुन्छ ?

दुई देशबीच बढ्दो तनाव कुन दिशातिर जान्छ भन्न गाह्रो छ। पाकिस्तानले आज धमाका भएको भनिएको स्थानमा बुधबार पत्रकारहरूलाई अवलोकनका लागि लैजाने बताएको छ। दिनभर धमाकादेखि हताहतीसम्मका खबर आए पनि घटनास्थलका फोटो/भिडियो मिडियामा आएका छैनन्। सम्भवतः पत्रकारहरूको बुधबारको भ्रमणपछि नयाँ कुराहरू सार्वजनिक हुनेछन्।

पाकिस्तानका विदेशमन्त्री शाह महुद कुरैशले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘जुन ठाउँमा आक्रमण भएको भारतीय दाबी छ। त्यहाँ खाली छ। त्यो ठाउँमा बुधवार सञ्चारमाध्यमलाई लगिनेछ।’ मंगलवार बालाकोट जान थालेका सञ्चारकर्मीलाई मौसम ठीक नभएको बताएको थियो। तर भारतले भने त्यो ठाउँ मंगलवार पाकिस्तानी सेनाले सफा गरिरहेको दाबी गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.