कालो झन्डा देखाउँदा पक्राउ परेका यादवको मृत्यु

रिपोर्ट नेपाल | 2018 Sep 03 | 07:59 am 1938

बर्दिया, भदौ १८: उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएको आरोपमा भदौ ७ गते पक्राउ परेका राममनोहर यादवको उपचारका क्रममा शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएको छ।

प्रहरी नियन्त्रणमा रहेका यादव एक्कासि बेहोस भएपछि प्रहरीले उपचारार्थ जिल्ला अस्पताल गुलरिया लगेको थियो। उपचारमा संलग्‍न डा सुप्रिया पौड्यालले प्रारम्भिक उपचारक्रममा मस्तिष्कमा पक्षघात भएको देखिएकाले उनलाई नेपालगन्ज रिफर गरेको बताइन्।

जिल्ला अस्पतालमा पक्षघातसम्बन्धी जाँचका लागि उपकरण नभएकाले उनलाई नेपालगन्ज रिफर गरिएको उनको भनाइ छ। पक्षघातसँगै यादवलाई १०८ डिग्री ज्वरो आएको थियो।

रोगले च्याप्दै लगेपछि उनलाई भदौ १४ गते जिल्ला अस्पतालका सिनियर अहेब गयाप्रसाद चौधरी र प्रहरीको प्रत्यक्ष निगरानीमा एम्बुलेन्समार्फत काठमाडौं लगिएको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए। ‘शिक्षण अस्पतालमा उपचारकै क्रममा शनिबार उनको मृत्यु भयो,’ मैनालीले भने, ‘शव आइतबार परीक्षण हुन्छ।’

सीके राउतका केन्द्रीय प्रवक्ता अब्दुल खानले आफ्ना जिल्ला नेता यादव उच्च रक्तचापको बिरामी भएको र उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको दाबी गरे। ‘प्रहरी हिरासतमा कसैलाई भेट्न दिइएन,’ उनले भने, ‘उच्च रक्तचापको बिरामी औषधि नै खान नपाएर मरेको हो।’

उनीसँगै पक्राउ परेका बाँके, बर्दियाका सह-संयोजक हरपाल सिंह, बाँकेका जिल्ला संयोजक हरफान शेष र क्षेत्रीय संयोजक राजितराम बर्मा हिरासतमै छन्। हिरासतमा रहेकालाई मुलुकी अपराध संहिता ऐन, २०७५ को दफा ४९ अन्तर्गत राज्य विप्लव कसुर अपराधअन्तर्गत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ। कसुर ठहर भए १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.