कालिमाटीस्थित तरकारी बजार बन्द गरिने, अब तरकारीका लागि कहाँ जाने ?

| 2018 Jul 08 | 04:33 pm 3923

काठमाडौं, २४ असार : तरकारी बजार भन्नसाथ कालिमाटीको नाम आउछ, तर अब कालिमाटीमा तरकारी नपाइने भएको छ । कालीमाटीस्थित तरकारी बजार सरकारले अन्यत्रै सार्ने भएको छ ।

सरकारले कालीमाटीमा तरकारी बजार बन्द गरेर त्यसको विकल्पमा काठमाडौँ र भक्तपुरको सीमास्थित मनोहराको किनारमा नयाँ तरकारी बजार खोल्नका लागि अध्ययन थालेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आइतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै कालिमाटी तरकारी बजार दलालहरुको हातमा रहेकाले मनोहरा खोलास्थित सुकुम्बासी बस्ती रहेको स्थानमा तरकारी बजार खोल्न अध्ययन थालिएको जानकारी दिएका हुन् ।

‘साउन मसान्तसम्म कालिमाटी तरकारी बजारको अवस्था नसुध्रिएमा त्यसलाई सरकारले बन्द गरिदिन्छ, वातावरण सुधार्न चेतावनी दिइसकेको छु’, मन्त्री खनालले भने, ‘तीन पुस्तादेखि कब्जा जमाएर बसेका दलालका कारण कालिमाटी तरकारी बजार उपभोक्ता ठग्ने ठाउँ भएको छ ।’

कालिमाटी तरकारी बजारको विकल्प खोज्न ढिलाइ भइसकेको बताउँदै मन्त्री खनालले अब सरकारले काम थालेको बताएका छन् । ‘कालिमाटीको विकल्पमा मनोहराको सुकुम्बासी बस्तीमा तरकारी बजार खोल्न काम थालेका छौँ’, उनले भने, ‘वास्तविक सुकुम्बासीहरुलाई उचित व्यवस्थापन गर्ने योजना पनि बनाउँदैछौँ ।’

कालिमाटी तरकारी बजारमा तीन लेयरमा दलालहरु रहेको बताउँदै मन्त्री खनालले जसका कारण कृषकदेखि उपभोक्तासम्मको ढाड सेक्ने काम भएको उल्लेख गरे । ‘कालिमाटी तरकारी बजारमा तीन पुस्तादेखि कब्जा जमाइएको छ’, उनले भने, ‘साउन मसान्तसम्म बजारको अवस्था नसुध्रिएमा बजार बन्द गरिन्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.