कार्यालय सहयोगीको हत्या गरी दश लाख लुटपाट

रिपोर्ट नेपाल | 2018 Aug 22 | 08:45 am 2099

दार्चुला, भदौ ६: दार्चुलाको मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ ।

मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मंगलबार हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए । ठगुन्नाको घरमै हत्या भएको थियो । प्रहरी टोली घटनास्थलमा पुगेको छ।

ठगुन्नाको साथमा रहेको रु १० लाखसमेत हत्याराले लुटेर लगेको स्थानीयवासी दिनेश सिंहले जानकारी दिए। घरमा एक्लै सुतिरहेका अवस्थामा उनको हत्या गरिएको छ।

उनको टाउकोमा घाउ छ । ठगुन्नाका श्रीमती र छोरा तराइतिर बस्दै आएका छन्। घरमा पठाउनका लागि जम्मा गरेको रु १० लाखकै कारण ठगुन्नाको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, इलाका प्रहरी कार्यालय लटिनाथ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.