बाँके, भदाै २०ः कारागार व्यवस्थापन विभागले देशमै पहिलोपटक बाँकेको गनापुरमा खुल्ला कारागार तयार गरेको छ । ६ बिगाह क्षेत्रफल ओगटेको खुला कारागार परिसरभित्र ३७ वटा कोठा तयार गरिसकिएको छ । त्यसमा ३२ जना बन्दी राखिने नेपालगन्ज कारागारका जेलर रामकुमार सोनकरले जानकारी दिए । ‘यो देशमै पहिलो खुला कारागार हो’, जेलर सोनकरले भने– ‘अहिले ३२ जनालाई बस्ने कोठा तयार भइसकेको छ । अझै डेढ सय जना बन्दीलाई राख्ने कोठा बनाउने योजना रहेको छ ।’
बाँकेकै नौबस्तामा ३ हजार क्षमताको क्षेत्रीय कारागार पनि बनिरहेको छ । निर्माणाधीन दुवै कारागारको अवस्था अवलोकन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहाल र निर्देशक रामचन्द्र तिवारीको टोली नेपालगन्ज आएको छ ।
गनापुरको खुला कारागार र नौबस्ताको क्षेत्रीय कारागारको अवस्था अवलोकन गरेपछि महानिर्देशक दाहालले दुवै ठाउँलाई छिटोभन्दा छिटो सञ्चालन गर्ने बताए । ‘हामीले दुवै ठाउँमा छिटो सञ्चालन गर्ने गरी काम गरिरहेको छौँ ।’ –महानिर्देशक दाहालले भने ।
खुला कारागार त तयार भयो । तर, त्यहाँ कस्तो बन्दीलाई राख्ने कार्यविधि बनिसकेको छैन । कारागार व्यवस्थापन विभागका निर्देशक तिवारीले छिट्टै कार्यविधि बनाएर खुला कारागार सञ्चालनमा ल्याइने बताए ।
निर्देशक तिवारीले भने– ‘कारागार भनेको त सुधार गृह हो । उनीहरुको आचरणलाई सुधार गरेर समाजमा पुनःस्थापना गराउने पनि हो । बन्दीको अवस्था हेरेर उनीहरुलाई बन्द कारागारमा मात्रै होइन खुला कारागारमा राखेर सामाजिकीकरण गर्ने ऐनमा व्यवस्था भएकाले पूर्वाधार बनाएर कार्यविधि बनाई कार्यान्वयन गर्दै जान्छौं ।’ उनले दुई तिहाइ कैद भुक्तान गरेको र आचरण सुधार हुँदै गएकालाई निश्चित सर्तका आधारमा बाहिर गएर काम गर्न पाउने गरी खुला कारागारमा राख्ने बताए ।
खुला कारागारमा बस्नेहरु परिवारसहित बस्न र बाहिर काम गर्न पाउँछन् । नेपालमै पहिलोपटक बाँकेबाट यसको कार्यान्वयन हुँदै छ ।
बाँकेकै नौबस्तामा ३ हजार क्षमताको क्षेत्रीय कारागार बनिरहेको छ । पूर्वाधारका धेरै काम सकिएको नौबस्ता कारागार सञ्चालनमा आउँदा बाँकेमा अहिले साढे ३ सय क्षमताको कारागारमा ८ सय जना बस्नुपर्ने बाध्यता हट्ने जेलर सोनकरले बताए । नेपाल समाचारपत्रबाट