कार्यपालिकाको निर्णय प्रभावकारी बन्दै

| 2022 Dec 03 | 09:36 am 1793

रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर १७ः गुल्मीको रेसुङ्गा नगरपालिका बाख्रेछेडाका थानेश्वर पोखरेल उमेरले ७० वर्ष पुगे । बुढौली उमेरले च्यापेसँगै आँखामा समस्या देखिन थाल्यो । प्रष्टै देखिने वस्तुहरु सजिलै ठम्याउन निकै मुस्किल पर्थ्याे । तर अहिले उनलाई सजिलो भएको छ । पहिला प्रष्टै देख्न मुस्किल पर्ने वस्तुहरु सजिलै ठम्याउन सक्छन् । उनको आँखाको ज्योति फर्काउन रेसुङ्गा नगरपालिका सहयोगी बनेर आयो ।

रेसुङ्गा नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि नगर कार्यापालिकाको पहिलो बैठकले निःशुल्क आँखाको उपचार गरिदिने निर्णय गर्यो । सोही निर्णय अनुसार पोखरेलले पनि निःशुल्क रुपमा आँखाको उपचार गराए । फेरी पहिला जस्तै आँखाले प्रष्ट देख्न थालेपछि उनलाई खुसीको सिमा नै छैन् । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्रमा समय–समयमा शिविर नै सञ्चालन गरी आँखाको उपचार गर्ने गरिन्छ ।

No description available.

शिविरमा पुगेका रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीलाई भेटेर खुसी व्यक्त गर्दै उनले नगरपालिकाको यो निर्णय अरु पालिकाले पनि अनुशरण गर्नुपर्ने बताए । पोखरलले न्यून आर्थिक अवस्था भएकालाई निकै ठुलो राहत मिलेको समेत प्रतिक्रिया दिए ।

नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीसँग सम्झौता नै गरी यस नगरपालिका भित्र रहेका नागरिकहरुको निःशुल्क आँखाको उपचार गरिएको नगर प्रमुख पन्थीले बताए। “आँखाको मोतियाबिन्दुको शल्यक्रिया भएपछि चस्मा लगाएर बृद्ध बुवाआमाहरुले आँखाले प्रष्ट रुपमा देख्न सक्नुभएको छ ।” नगरप्रमुख पन्थीले भने, “यो एउटा महत्वपूर्ण काम हो । गरिब, दिनदुखी, बृद्ध बुवाआमाहरु र नागरिकको पक्षमा काम गर्न आएका हौं । सधै रेसुङ्गाबासी नागरिकको पक्षमा काम गनेछौं ।”

रेसुङ्गा नगरपालिका नगर कार्यापालिकाको निर्णय अहिले प्रभावकारी बन्दै गएको छ । नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि नगर कार्यापालिकाको पहिलो बैठकले यस नगरपालिका भित्र रहेका नागरिकहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार यस नगरपालिका भित्रका नागरिकहरुको आँखाको निःशुल्क उपचार गरिएको नगरप्रमुख पन्थीले बताए ।

जिल्लामा रहेका सबै पालिकाहरुले पनि यस प्रकारको कार्यक्रमलाई प्राथमिकता राखे जिल्ला भरीकै आँखाका बिरामी बृद्ध बुवा आमाहरुले सजिलै उपचार प्राप्त गर्न सहज हुने सुझाव समेत व्यक्त गरे । अहिलेसम्म नगरपालिकासँगको समन्वयमा नेपाल नेत्र ज्योति संघ गुल्मीले ४६ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरेको नेत्र अधिृकत सूर्य बहादुर बस्नेतले जानकारी दिए । नगरपालिकाको यो निर्णयप्रति नागरिकहरु पनि उत्साहित देखिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.