कार्यदलको म्याद थप्नेबारे नेकपामा विवाद, एकता प्रक्रिया लम्बिँदै

| 2019 Feb 21 | 05:17 pm 1790

काठमाडौं, फागुन ९ : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को संगठनात्मक एकीकरण टुंग्याउन गठित कार्यदलको म्याद थप्नेबारे सचिवालयमा विवाद उत्पन्न भएको छ ।  बिहीबार प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकमा एकता कार्यदलले थप अन्तिम प्रतिवेदन बुझाउन थप एक हप्ताको सयम माग गरेपछि सांगठनिक एकिकरणका विषयमा कुनै निर्णय भएन ।

बैठकमा कार्यदलले एकीकरणको खाका (जिल्ला तहको नेतृत्वको सिफारिससमेत) बुझाउन सात दिनको समय माग गरेको थियो । तर, कार्यदललाई समयावधि थप्ने कि सचिवालयले नै टुंग्याउने भन्ने विषयमा शीर्ष तहका नेताको मत बाझिएपछि बैठक भोलि शुक्रबार बिहानसम्म स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दियो ।

बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा कार्यदलका संयोजक तथा गृहमन्त्री रामबहादुर थापाले एक साता समय थप गर्न माग गर्दै हालसम्म कार्यदलले गरेको कामको प्रतिवेदन बुझाएका थिए । पूर्ण प्रतिवेदन तयार पार्न थप एक साता लाग्ने जानकारी उनले दिएका थिए ।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भए पनि जिल्ला तथा जनवर्गीय सङ्गठनको एकता हुनसकेको छैन । स्थायी समितिले कार्यदल नै गठन गरेर साङ्गठनिक एकता टुङ्गो लगाउने बताए पनि कार्यदलमा सबै विषयमा सहमति हुन नसक्दा एकता प्रक्रिया लम्बिँदै गइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.