कारागार शाखा तुलसीपुरमा १ सय बढी कैदीलाई रुघाखोकी

| 2020 Oct 25 | 09:28 am 2941

दाङ, कात्तिक ९ः शाखा कारागार तुलसीपुरमा झण्डै एक सय बढी कैदीलाई रुघाखोकी लागेको छ । उनीहरुमा रुघाखोकी लागेको कारागार शाखा तुलसीपुरका जेलर युवराज परियारले जानकारी दिए ।

उक्त कारागारमा रहेका ४ सय ५९ जना कैदीमध्ये १ सय बढीमा उक्त लक्षण देखिएको थियो । ती कैदीहरूलाई रुघाखोको औषधि र तातोपानी, झोलिलो पदार्थ, ज्वानोको सुप खुवाईएको थियो, जसले उनीहरूमा लक्षण कम भएकाे बताइएकाे छ  । अब १०/१२ जना मात्र सामान्य प्रकारका अस्वस्थ रहेका छन् ।

सुरुमा एक-दुई जनामा मात्र रुघाखोकी लागेकोमा क्रमशः फैलिएर झण्डै एक सय जनामा देखिएको थियो । उनीहरूमध्ये अधिकांश करिब निको भइसकेको अवस्था रहेको जेलर परियारले बताए ।

सिकिस्त भए मात्र पीसिआर टेष्ट गर्ने सरकारले निर्देशन दिएका कारण स्वाब टेष्ट भने कसैकाे पनि नगरिएको परियारकाे भनाइ छ । अत्यन्त संवेदनशील स्थानमध्ये कारागार पनि एक भएकाले कैदीलाई कोरोना लगायत कुनै पनि संक्रमण हुने खालका रोगप्रति कारागार शाखा सतर्क अवस्थामा रहने गरेको उनले बताए ।

मादण्डअनुसार साढे २ सय बढी राख्न नसकिने कारागारमा हाल ४ सय ५९ जना कैदीलाई राखिएको छ । कारागार शाखा तुलसीपुरमा २८ जना महिला, दुई जना आश्रित बालबालिका र बाँकी पुरुष कैदीहरुलाई राखिएको छ ।

वर्षेनी कारागारमा गरिने बडादशैँ भोज पनि यसपालि सामान्य तरिकाले गरिएको छ । कैदीहरुकै आयोजनामा बडाभोज मनाउने चलन रहेको छ । यसपालि कैदीहरुलाई भेटघाट गर्न नदिने व्यवस्था गरेकाले टीका लगाउनबाट भने उनीहरू वञ्चित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.