कारागारमा अस्थायी मतदान स्थल

| 2022 Sep 28 | 05:02 pm 1577

हुम्ला असोज १२ः आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि हुम्ला कारागारलाई अस्थायी मतदान स्थल कायम गरिएको छ। कारागारका कैदी बन्दी, थुनुवा र निर्वाचनमा नखटिएका अस्थायी मतदाताका लागि मतदान गर्नका लागि कारागारलाई अस्थायी मतदान स्थल तोकिएको हो।

निमित्त जिल्ला निर्वाचन अधिकारी श्याम रानाले पहिलो पटक कारागारलाई अस्थायी मतदान स्थल तोकिएको बताए। उनले हाल कारागारमा रहेका कैदी, थुनुवा र जिल्लामा सङ्कलन भएका अस्थायी मतदातालाई मतदान गर्न उक्त मतदानस्थल निर्वाचन आयोगले कायम गरेको बताए।

कारागार जिल्ला प्रहरी कार्यालयको हाताभित्रै छ।सो मतदान स्थलमा कैदी, थुनुवा, अस्थायी मतदाता नामावली भएका तर निर्वाचनमा नखटिएका कर्मचारी, सुरक्षाकर्मी र सो मतदान स्थलका लागि खटिएका कर्मचारीले प्रतिनिधि सभा अन्तर्गतको समानुपातिक मतदान कार्यमा भाग लिन पाउनेछन्।

हाल अस्थायी मतदाता नामावली सङ्कलन कार्य भइरहेको कारण मतदाताको सङ्ख्या भने अहिले नै भन्न सकिने अवस्था रहेको छैन। कारागारमा अस्थायी मतदानस्थल तोक्नुको कारण भने कैदी र थुनुवालाई सुरक्षाका कारण बाहिर मतदान गर्न समस्या हुने भएपछि हो।

यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सो सुविधा थिएन। यसैबीच हुम्ला जिल्लाका लागि ५८ वटा मतदान स्थल र ५९ वटा मतदान केन्द्रहरु कायम गरिएका छन्। जसमा ४७ वटा साविकका मतदान स्थल कायम छन् भने चार वटाको ठाउँ सारी र सात वटा नयाँ कायम भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.