कारागारको चौकीदारबाटै लागूऔषधको कारोबार गरेको आरोप

| 2019 Apr 07 | 01:48 pm 2385

मकवानपुर, चैत्र २४ : क्षेत्रीय कारागारभित्र चौकीदारले लागुऔषध कारोबार गरेको पाइएको छ । भीमफेदी गाउँपालिकास्थित रहेको क्षेत्रीय कारागारमा चार महिनाअघि चौकीदार भएका बुद्धिबल लामाले कारागारभित्रै लागुऔषधको कारोबार गरेको पाइएको छ । चौकीदारलाई आइतबार कैदीबन्दीले रंगे हात पक्राउ गरेका छन्। रंगेहात पक्राउ परेलगत्तै उनलाई कैदीबन्दीले नै कारागारबाट बाहिर निकालेको प्रहरीले जानकारी दिए।

कारागारका एक बन्दीका अनुसार चौकीदारलाई गाँजा र कोरेक्ससहित उनीहरुले पक्राउ गरेर प्रहरीलाई बुझाएका बताए । साथै चौकीदारले धेरै समय अगाडिदेखि आफूहरुलाई अखाद्य वस्तु खुवाइरहेको आरोप समेत पनि बन्दीहरुले लगाएका छन्। उनीहरुलाई  प्रत्येक दिन दिइने खानाको लागि कुहिएको चामल दिने गरेको र दालमा मैदामा मिसाएर पकाउने गरेका दाबी छ। बन्दीहरुले खाद्यान्नको विषयमा आवाज उठाउँदासमेत नसुनेको बताए ।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङले कारागारभित्र गाँजाको पोका भेटिएको सुनिए पनि पुष्टि हुन बाँकी रहेको बताए।

गाँजा भेटिएको र कारोबार हुन्छ भन्ने विषयमा मैले जानकारी पाएसँगै यस विषयमा सम्बन्धित सबैमा जानकारी गराएको र कारोबार भएको पुष्टि भए कारबाही हुने जानकारी दिएका छन् ।

कारागारमा कैदीबन्दीबीच पक्ष र विपक्षमा विभाजित भएर स्थिति तनव हुनथालेपछि सशस्त्र प्रहरी र नेपाल पुलिसले उच्च सुरक्षा सतर्कता अपनाइरहेको बुझिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार कारागारको सुरक्षा  व्यवस्था कडा पारिएको र घटनाको विषयमा छानविन अगाडि बढाइएको जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.