काठमाडौं, साउन १८ः राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई कायममुकाय प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सैनिक ऐन–२०६३ को दफा ८ को उपदफा (३) अनुसार राष्ट्रपति भण्डारीले उनलाई कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २४ गतेबाट अनिवार्य अवकास पाउने भएपछि यही साउन २४ गतेबाट उनी एकमहिने बिदामा बस्न लागेका छन् ।
कायममुकायम प्रधानसेनापतिमा नियुक्त भएका रथी शर्माले स्वदेशमा सबै व्यावसायिक तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् ।
उनले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतंकवाद तथा सुरक्षा, थाइल्यान्ड तथा पाकिस्तानबाट प्रतिरक्षा र बंगलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम तथा सेमिनार पूरा गरेका छन् ।
यसका साथै नेपाली सेनाको अपरेसनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक र विगत १ वर्षदेखि बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारी पूरा गरेका शर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समस्याहरु तथा चुनौतीको बारेमा पूर्णरूपमा ज्ञान हासिल गरेका छन् । नेपाल समाचारपत्रबाट