कामु प्रधानन्यायाधीशविरुद्ध १० दिनमा पाँच उजुरी, सुर्ती खाएर इजलासमा निदाएको आरोप

रिपोर्ट नेपाल | 2018 Jul 26 | 12:05 pm 1848

काठमाडौँ– प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध दश दिनमा पाँचवटा उजुरी परेका छन्।

जोशीविरुद्ध सुर्ती खाएर इजलासमा निदाउने, छोराछोरीको बिहे तारे होटलबाट लाखौं खर्च गरेर गरेको, अन्तरिम आदेशका कारण राज्यलाई अर्बौँ रुपैयाँ घाटा पुर्‍याएको, सार्वजनिक सम्पति व्यक्तिका नाउँमा दर्ता गर्न सहयोग गरेको जस्ता उजुरी परेको संसदीय सुनुवाइ समिति स्रोतले जनाएको छ। उनीविरुद्ध परेका पाँचवटै उजुरीमा सार्वजनिक जग्गा लाखौं रुपैयाँ घुस खाएर व्यक्तिकरण गरिएको आरोप लगाइएको छ।

यस्ता छन् जोशीविरुद्ध परेका पाँच उजुरी

उजुरी १. उच्च नैतिक चरित्र छैन, न्यायिक मन र विवेकको प्रयोग गर्न सक्ने आचरण छैन। उनले तल्ला तहका अदालतमा दबाबका आधारमा फैसला गराउने गरेका छन्। इजलासमा बस्दा सुर्ती खाने, निदाइरहने, छोराको भोज विवाहमा पाँचचारे होटलमा दिएका छन्। देशका विभिन्न ठाउँका जग्गा सम्बन्धी मुद्दामा राज्यलाई घाटा हुने गरी फैसला गरेका छन्।

उजुरी २. दीपकराज जोशीको अन्तरिम आदेशका कारण राज्यलाई पाँच अर्बभन्दा बढी घाटा लागेको छ। क्यासिनो बेल्लिज (मल्ल होटल) बाट करोडौं लिएर सञ्चालन गर्न अन्तरिम आदेश दिएको। देशका विभिन्न ठाउँका सरकारी खाली जग्गालाई व्यक्तिका नाउमा जान दिएको। तनहुँको भीमाद नगरपालिकाको १४ सय रोपनी सार्वजनिक जग्गा व्यक्तिका नाममा नाम सारी गर्ने सम्बन्धी मुद्दालाई कानुन विपरीत मेलमिलापका लागि पठाएको।

उजुरी ३. विशाल बजारमा ८ रोपनी ३ आना जग्गा बापतको शेयर कामय गर्ने निर्णय कार्यान्वयन नगर्न एक पक्षीय रुपमा सर्वोच्चकै न्यायाधीश जेतबहादुर केसीले २०७४ माघ १० मा दिएको आदेश मिलोमतोमा थप सुनुवाईका लागि स्थान नदिएको । विशाल बजार कम्पनिका सञ्चालक रवीनन्द्र लाल श्रेष्ठविरुद्ध परेको भ्रष्टाचार मुद्दा पनि मिलोमतोमा स्थान नदिएको ।
उजुरी ४. सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण राज्यलाई ६१ अर्ब घाटा पुर्‍याउन सहयोग पुर्‍याएको। एनसेल, गोर्खा ब्रुअरी, सूर्य नेपाल मल्ल होटललगायतबाट कर असुल रोक्न अन्तरिम आदेश दिए पनि त्यस्ता मुद्दालाई चाँडै टुंग्याउन आलटाल गरेको। आर्थिक प्रलोभनमा परेर आठवटा मिनी क्यासिने सञ्चालन गर्न आदेशमार्फत अनुमति दिएको। जसले अरु कानुनी प्रक्रिया पूरा गर्न समेत सञ्चालकलाई बाध्य नपारेको।

उजुरी ५. नारायण दाहालमार्फत चुणमणि शर्मालाई उन्मुक्ति दिने प्रयास गरेको। छोराको विवाह र छोरीको इन्गेजमेण्टमा अन्नपूर्ण होटलामा सयौं व्यक्तिलाई लाखौं रुपैयाँको भोज दिए पनि आर्थिक स्रोत नखुलाएको। र, पैसाका लागि जे पनि गर्न सक्ने व्यक्तिबाट स्वतन्त्र न्यायपालिको संरक्षण हुन सक्दैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.