कामीरिता २४ औं पटक सगरमाथा चढ्ने !

| 2019 May 16 | 06:28 pm 979

काठमाडौं, जेठ  २ : आफ्नै कीर्तिमान तोड्दै बुधबार २३ औं पटक सगरमाथा चुचुरोमा पुगेका सोलुखुम्बु थामेका ४९ वर्षीय कामीरिता शेर्पाले शनिबार पुनः सगरमाथा आरोहण गर्ने भएका छन् ।

अबको उनको आरोहण २४ औं हुने छ। ‘कामीरिता शनिबार फेरी विदेशी आरोहीका साथ सगरमाथा आरोहणमा जाँदै छन्,’ सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कान्तिपुरसँग भने, ‘शुक्रबार पर्यटन विभागमा दोस्रोपटकको अनुमतीका लागि पत्राचार गर्दै छौं।’

कामीरिता सेभेन समिटमा वरिष्ठ गाइडका रुपमा आवद्ध छन्।कामीरिताले एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गर्न लागेको यो चौथो पटक हो। उनले सन् २००९, २०१० र २०१३ मा एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेका थिए।

कामीरितालाई सेभेन समिटले दुई वर्षका लागि वार्षिक ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ। उनका अनुसार दुई वर्षको समय अबको हिउँदयाममा सकिँदै छ। उनी यो कम्पनीमा अनुबन्ध हुनुअघि अमेरिकी कम्पनी अल्पाइन एसेन्टसँग आवद्ध थिए।

कामीरितापछि सर्वाधिक सगरमाथा आरोहण गर्नेमा सोलुखुम्बुकै आप्पा शेर्पा, फुर्वातासी शेर्पा र ङिमा नुरु शेर्पा छन्। उनीहरूले २१ पटक चुचुरामा पाइला राखिसकेका छन्। सन् २०११ मा २१ औं पटकको कीर्तिमानी राखेर आप्पाले आरोहणबाट विश्राम लिइसकेका छन्।

उनीपछि २०१३ मा फुर्वातासी आप्पाकै हाराहारीमा पुगेका थिए। निमा नोरु शेर्पा भने २२ औं पटककालागि यस सिजनमा आरोहण गर्दै छन्।
२४ वर्षको उमेर छँदा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका कामीरिताले २५ पटक आरोहण गरेर मात्रै विश्राम लिने सार्वजनिक घोषणा गरेका छन्।

एकपटक तिब्बततर्फको उत्तरी मोहोडाबाट चुचुरामा पुगेका कामीरिताले २२ पटक नेपालतर्फको दक्षिणी मोहोडाबाट सगरमाथा चुचुरामा पाइला राखेका हुन्। यीनले ८ हजारभन्दा अग्ला सगरमाथा बाहेक आठपटक चोयू, एकपटक ल्होत्से, दुईपटक मनास्लु र एकपटक पाकिस्तानमा रहेको केटू गरी ३५ पटक आरोहण गरीसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.