काभ्रेको भुम्लुमा रेविज आतंक

| 2022 Sep 05 | 08:00 am 2025

काभ्रे, भदाै २०ः काभ्रेको भुम्लु गाउँपालिकामा रेविजको आतंक फैलिएको छ । एक महिनामा ५० भन्दा धेरै पशु चौपायाको निधन भए सँगै गाउँ त्रसित भएको हो । स्वास्थ्य कार्यालय काभ्रे, पालिकाको स्वास्थ्य शाखा, पशु स्वास्थ्य शाखाले रोकथामको प्रयास गरे पनि नियन्त्रण बाहिर गएको छ ।

‘भुम्लु गाउँपालिकाको वडा नम्वर १ सापिङको कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से, खोलमबारीमा एक महिनाको बीचमा ५० भन्दा धेरै पशु चौपाया मरिसकेका छन्’–स्थानीय दावा लामाले भने–‘मरेको भैसीको मासु खाए पछि गाउँ त्रसित छ । भैसीको मासु खानेहरु खुल्न नसक्दा गाउँमा थप सन्त्रास फैलिएको छ ।’

सापिङको कात्तिकेबाट किनेर भुम्लुबेशी पुर्याईएको राँगो पनि रेविजकै कारण मरे पछि वडा नम्वर १, ७ र ८ रेविजको संक्रमित क्षेत्र भएको छ । स्वास्थ्य शाखा प्रमुख सुर्दशन भट्टराईले भैसीको मासु खाने मध्येका १९ परिवारका ५१ जना सहित २ सय ८९ जनालाई रेविज विरुद्धको खोप लगाईएको छ । भाद्र १६ गते भुम्लुबेशीमा मरेको राँगोमा रेविज पुष्टी भए पछि थप त्रास फैलिएको छ ।

सापिङ्ग कात्तिकेका दावा लामाका अनुसार पछिल्लो एक महिनामा हर्कजित तामाङको एउटा भैसी, भक्तबहादुर लामाको एउटा भैसी र शान्ति लामाको एउटा भैसी मरेको छ । स्वंय दावा लामाको घरको कुकुर र राँगोलाई रेविज लागेको बहुला कुकुरले टोक्यो । तत्कालै रेविज विरुद्धको खोप लगाएकाले केहि भएको छैन ।

दुईवटा कुकुर कात्तिकेमा मरेका छन् । जफरबहादुर तामाङ र कृष्णबहादुर बम्जनका कुकुर मरेका छन् । गाई, भैसी, बाख्रा पनि मरेका छन् । स्थानीय रामचन्द्र गिरीका अनुसार आरनगाउँ, भारति गाउँ, गैराटोलमा रेविजबाट धेरै पशुपक्षी मरेका छन् । सविन गिरीको एउटा गाई मरेको छ भने हरि गिरीको पनि एउटा गाई मरेको छ । खुसल आरन गिरीको पनि गाई मरेको छ । गाउँभरी कुकुरले पशुपक्षी टोक्ने, पशुलाई राखेको पानीमा र्याल चुहाउने गरेको स्थानीयले देखेका थिए ।

भारतिगाउँ र आरनगाउँका स्थानीयहरुले कुकुरलाई नियन्त्रणमा लिएर मारेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले पशुहरुको शंकास्पद मृत्यु हुन थालेपछि परिक्षणसँगै रोकथाम शुरु गरिएको बताए । ‘रेविजको पहिचान, परिक्षण र रोकथाम शुरु गरिएको छ’–डा. सेढाईले भने–‘भुम्लुमा रेविजको आतंक फैलिएको छ, समयमै जनचेतनाका साथ नियन्त्रणका लागि सबै पक्ष सक्रिय हुनु आवश्यक छ ।’

आरनगाउँमा सिता गिरीको भैसी मर्यो । बाख्रा पनि मरे । कुकुरले बाख्रालाई पनि टोकेको थियो । सिताको परिवार नेपाली सेनामा छ । छिमेकी मिनाकुमारी आरन गिरीको परिवारले विष राखेर खुवाएकोले भैसी मरेको आरोप लगाउँदै आएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी गर्ने बेला सिताले पानी ढलोका कारण असर परेको बताएका थिए ।

तर छलफलमा भैसीलाई विष राखेर मारेको आरोप लगाएकी थिईन् । मरेर गाढेको भैसीको सिनो निकालेर परिक्षण गरेपछि रेविजका कारण मरेको पुष्टी भएको थियो । सिताको छिमेकी नमकुमारी गिरीका चारवटा बाख्रा मरेका छन् । एउटा घाईते छ । अर्काे पनि विरामी छ । शुरुमा तौल कम हुँदै जाने, खोक्ने, सिंगान बगाउने, र्याल काढ्ने र केहि दिन पछि मर्ने । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.