काबुलमा राष्ट्रपतीय कार्यालय लक्षित क्षेप्यास्त्र प्रहार

रिपोर्ट नेपाल | 2018 Aug 21 | 05:05 pm 1626

काबुल, भदौ ५ : अफगानिस्तानका राष्ट्रपतिको कार्यालयलाई लक्षित गरी मङ्गलबार तालिबान लडाकू समूहले दुईवटा रकेट प्रहार गरेको छ । प्रहरीका अनुसार, अफगान राष्ट्रपतिले मुस्लिम समुदायको महान चाड इद अल–अधाका अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सम्बोधन गरिरहेको अवस्थामा रकेट प्रहार भएको हो ।

उक्त रकेट प्रहारसँगै क्षेप्यास्त्र जडित हेलिकप्टरबाट सम्भावित स्थानमा प्रत्याक्रमण गरिएको प्रहरीले जनाएको छ । तालिबानले प्रहार गरेको पहिलो रकेट राष्ट्रपति कार्यालय नजिकै झरेको थियो भने दोस्रो रकेट नेटो र अमेरिकी दूतावास नजिकै झरेको थियो तर दुबै आक्रमणबाट कोही पनि हताहत भएका छैनन्, प्रहरी अधिकारी जान आघाले बताए ।

राष्ट्रपति अशरफ घानीको सम्बोधन चलिरहेको समयमा टेलिभिजन च्यानलमा रकेट बिस्फोटको ठूलो आवाज सुनिएको थियो । बिस्फोटको आवाज सुनेपछि राष्ट्रपति घानीले सम्बोधनकै क्रममा भने, “रकेट आक्रमणबाट अफगानीलाई कमजोर तुल्याउने उनीहरुको सोचाई हो भने उनीहरु गलत छन् ।”

रकेट आक्रमण गरिएको राजधानी काबुलको यो क्षेत्र सबैभन्दा सुरक्षित मानिन्छ । यही क्षेत्रमा राजदूतावासहरु र उच्च सरकारी कार्यालयहरु रहेका छन् र त्यसलाई अग्ला, बलिया पर्खाल एवं काँडेतारले घेरिएको छ । अमेरिकी राजदूतावासका साथै संवेदनशील सरकारी र सैनिक इलाका नजिकका धेरैवटा सडक बन्द गरिएका छन् ।

काबुल प्रहरीका प्रवक्ता हस्मत स्टानिक्जाईले मङ्गलबार बिहान पनि एउटा शंकास्पद सवारी साधन देखिएको बताए। उक्त सवारी साधन इद गाह मस्जिद नजिकको माटोले निर्माण गरिएको घरतर्फ गएको थियो । त्यही घरको एक छेउबाट रकेट आक्रमण भएको पाइएको छ, उहाँले बताउए।

बन्दुकजडित हेलिकप्टरले त्यही क्षेत्रमा प्रत्याक्रमण गरेको, तथा घर र सवारी साधन ध्वस्त पारिएको छ, प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरुले बिस्फोट लगत्तै त्यही क्षेत्रमा गोली चलेको आवाज सुनिएको बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.