काफल बेचेरै मासिक एक लाखभन्दा बढी आम्दानी

रिपोर्ट नेपाल | 2023 May 21 | 07:52 am 1521

बुटवल, जेठ ७ः पाल्पा देउगीकी ३४ वर्षीय मीना सारूको दैनिकी आजभोलि अलि भिन्न छ । झिसमिसे नहुँदै बिहान ४ बजे उठेर घरको काम सक्नुपर्ने त छँदै छ तर सिजनको व्यापारका लागि बुटवल धाउनुपर्ने अर्काे काम पनि अहिले थपिएको छ । पाँच जनाको परिवारलाई हातमुख जोर्ने जिम्मा उनको काँधमा छ ।

“४ बजे उठेपछि घरको काम बिहान ६ बजेसम्म सक्छु र झिसमिसेमै डोको बोकेर जङ्गल जान्छौँ, म मात्रै होइन छिमेकीहरू पनि,” उनले भनिन्–डोकोमा काफल बटुलेपछि बोकेर यहाँ आउँछौँ क्षणभरमै बिक्री हुन्छ ।

जेठको चर्को घाम हुदाहुँदै पनि असिनपसिन हुँदै काफल बेच्दै गर्दा उनी बुटवल–९, कालिकानगर, टिचर पथमा भेटिन् । उनी भन्छिन्, “कमाउने अरू कुनै आधार छैन, दिनदिनै काफल टिपेर बेच्नका लागि आउने गर्छु ।”

बुटवलमा चैत महिनादेखि जेठको अन्तिम सातासम्म काफलको राम्रो व्यापार हुने गरेको छ । देउगीको काफल डोकोमा बोकेर करिब दुई घण्टा पैदल हिँडेपछि बल्ल बुटवल जाने मूल सडक सिद्धार्थ राजमार्गमा पुगेर बस चढ्ने गरेको सारूको भनाइ छ ।

उनले अहिले काफलको सिजनमा दैनिक करिब चार हजार रुपियाँ आम्दानी गर्ने गरेको र एक महिनामा करिब एक लाख ३० हजार रुपियाँ काफल बेचेरै कमाएको बताइन् ।

मीनाकै गाउकी हीरा सारूको कथा पनि उस्तै छ । मीना र हीरा सँगसँगै घरको काम सकेर काफल टिप्न जङ्गलमा पुग्छन् र जङ्गलमा ठुला–ठुला रुख भएकाले काफल टिप्न उनीहरूलाई निकै समस्या छ । “रुख चढ्न गाह्रो छ, कुनै कुनैमा चढ्न सकिँदैन तर सधैँ यही काम गर्नु परेपछि जसरी पनि काफल टिप्छाैँ,” हीरा सारूले भनिन् ।

उनका श्रीमान् शेरबहादुर सारू गाउँमै खेती किसानी गर्छन् । उनले आफ्नी श्रीमतीलाई काफल टिप्ने काममा सघाउँदै आएका छन् । काफल बेचेर आएको आम्दानीले छोराछोरीलाई पढाउने र घर खर्च पनि चल्ने गरेको छ ।

पाल्पाको जङ्गलबाट काफल टिपेर बुटवल बजारमा बेच्दा उनीहरूले मानाको १६० देखि २२० रुपियाँसम्ममा बिक्री गर्ने गरेका छन् । हीराले काफल बेचेर आफ्नो पाँच जनाको परिवार पाल्दै आएकी छन् ।

चैतदेखि जेठसम्म यसरी काफल बेच्ने सिजन भएकाले पाल्पाका विभिन्न क्षेत्रबाट काफल बेच्न बुटवल आउनेको सङ्ख्या धेरै छ । गाउँमा काफलको मूल्य कम भएपछि धरै आम्दानी गर्ने उद्देश्यले उनीहरू बुटवल आउने गरेको बताउछन् । उनीहरूले हरेक वर्ष यो अवधिमा काफल बेच्ने गरेको र अरू समयमा झन् गाउँमा ऐँचोपैँचो खेती किसानीमा रमाइरहेका छन् । वन जङ्गलमा पाइने काफल आम्दानीको स्रोत बन्न थालेपछि उनीहरूले घरको बारीमा समेत काफलका बोट रोप्न थालेको मीनाले बताइन् । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.