कानूनी न्याय पाएका महरालाई मिल्ला त राजनीतिक न्याय ?

| 2020 Feb 18 | 04:58 pm 2634

  • कृष्ण प्रसाद सापकोटा

पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतले सफाई दिएको छ । गत असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको अभियोगमा नेपाल प्रहरीले महरा विरुद्ध जिल्ला अदालत काडमाडौंमा मुद्दा दायर गरेको थियो ।

महिला माथि यौन दुव्र्यावहार गरेको समाचार मिडियामा आएपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महरालाई राजीनामाका लागि दबाव दिएका थिए ।

पार्टी नेतृत्वको दवावपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिए । असोज १९ गते प्रहरीले पक्राउ गरी नियन्त्रणमा लियो ।

जुन महिला माथि यौन दुव्र्यावाहर भयो भन्दै समाचार आएको थियो, ती महिला स्वयंले समाचार झुठो हो, महरा र म बीच बाबुछोरीको जस्तै सम्वन्ध छ भनिरहेकी थिइन । यति हुँदा हुँदै पनि महराले पदबाट राजीनामा दिनु प¥यो । राजीनामा मात्रै होइन लगभग चार महिना सम्म कारागारमा बस्नु पर्यो । सभामुख पद गुम्नु र चार महिनासम्म कारागारमा बस्नु त्यसै ठूलो कुरा होइन, तर सामाजिक रुपमा धेरै नै वद्नामी खेप्नु पर्यो ।

करिव ५० वर्ष लामो कठोर संघर्षद्धारा स्थापित भएको व्याक्तित्व गर्ल्याम–गुर्लुम ढल्यो । भरखर लटरम्म फल लागेको बृक्ष एक्कासी ठूलो आँधी आएर ढलेको जस्तै भयो । उनी माथि झुठो अभियोग लगाइएको प्रमाणित न्यायलयले गर्यो ।

न्यायलयबाट त उनले सफाई पाए, तर यसवीचमा भएको उनको व्याक्तित्वको क्षतिपूर्ति कसले कसरी दिने ? यो अहम प्रश्न हो । उनलाई कानूनी न्याय मिलेको छ । अब राजनीतिक न्याय मिल्नु पर्छ । उनलाई अब राजनीतिक न्याय दिन सक्ने भनेको पार्टी अध्यक्षद्धय ओली र प्रचण्डले हो ।

सभामुख पदमा पुनर्बहाली गरिएपछि मात्र महराजीले पूर्ण न्याय पाएको मानिनेछ । महरालाई सभामुखमा पुनर्वाहाली गर्ने ताकत ओली र प्रचण्डले मात्रै राख्छन् । षड्यन्त्र नै हो भन्ने पुष्टि त अदालतले गरिसकोको छ ।

महरालाई षड्यन्त्रपूर्वक फँसाउने मामिलामा ओली र प्रचण्ड सामेल छन् भन्ने आशंका धेरैले गरेका छन् । एमसिसि विधेयकलाई पेण्डुलम बनाइएकै कारण महरालाई ओली र प्रचण्डले फँसाएको टिप्पणी सत्तारुढ पार्टीकै नेता तथा कार्यकर्ताले गरिरहेका छन् । यो टिप्पणी सही हो या गलत ? त्यसको पुष्टि अब छिटै हुनेछ । यदी महरालाई सभामुख पदमा पूनर्वाहाली गराइयो भने ओली र प्रचण्ड षड्यन्त्रमा संलग्न रहेनछन् भन्ने पुष्टि हुन्छ , यदी पुर्नवहाली गरिएन भने ओली र प्रचण्ड षड्यन्त्रमा सामेल रहेछन् भन्ने कुरा पुष्टि हुन्छ ।

समाचार आएपछि नैतिकताका आधारमा राजीनामा दिनु राजनीतिक धर्म नै हो । लोकतन्त्र भएका विश्वका सबै मुलुकमा यो अभ्यास छ । यति ठूलो अभियोग लागि सकेपछि राज्यसंयन्त्रले नियन्त्रणमा लिएर सोधपुछ गर्नु पनि स्वभाविकै होला, तर पीडित भनिएकी महिलाले घटना भएको भनिएको दिन महरा आफ्नो डेरामा आउँदै नआएको वयान दिँदा दिँदै, परीक्षणका लागि पठाइएको गिलास र चश्मामा रहेको औँठाको छाप महराको औँठाको छापसँग तुलनात्मकरूपमा नमिलेको पुष्टि हुँदा हुँदै पनि जवरजस्ती मुद्धा अघि बढाएर जेलमा कोच्नु भनेको धेरै नै ठूलो ज्यादती हो । सभामुख पदमा आसिन व्याक्तिले समेत राज्य संयन्त्रबाट यति ठूलो ज्यादती भोग्नु पर्दो रहेछ भने निमुखा सर्वसाधरण जनताले कति ज्यादती सहेका होलान ?

सभाुमख महरामाथि षड्यन्त्र भएको कुरा न्यायलयले पुष्टि गरेपनि यति ठूलो षड्यन्त्र किन र कसले गरेको होला ? भन्ने पुष्टि होला कि यो घटना दरवार हत्या काण्ड तथा मदन भण्डारी हत्या काण्ड जस्तै रहस्यको गर्भमै रहला ? भन्ने प्रश्न ज्यादै पेचिलो छ । अहिले सरसरर्ती हेर्दा के देखिन्छ भने महरालाई रोशनी शाहीले नै फसाइन्, उनैले जोगाइन् पनि । अरु कसैले षडयन्त्र भए शाहीलाई जति अरुलाई थाहा हुन्न । तीन चार वटा प्रश्नको उत्तर खोज्नै पर्ने हुन्छ ।

आँफू माथि बलत्कार भयो भन्ने समाचार मिडिया तथा प्रहरीलाई दिन रोशनी शाहीलाई कसले उकास्यो ? सुरक्षाका दृष्टिले निकै संवेदनशील मानिने लैनचौरदेखि बुढनिलकण्ठसम्मको सडक आसपासमा सिसिटिभी क्यामरा जडान नगरिनु र रोशनी शाहीको डेरा छिर्ने गल्लीमा सिसिटिभी क्यामरा जडान गरिनुको कारण के हो ? यो घटना भएको भनिएको दिन भन्दा करिव दुई साता अघि मात्रै रोशनी शाहीको डेरा छिर्ने गल्लीमा सिसिटिभी क्यामरा जडान गरिएको समाचार आएको छ ।

कसको विशेष पहलमा यो गल्लीमा सिसिटिभी क्यामरा जडान गरिएको हो ? तत्कालिन सभामुख महराले गत असारमै एमसिसि विधेयक पेण्डिङमा राखेका थिए । तर चिनियाँ राष्ट्रपति सिजिनपिङको नेपाल भ्रमणको संघारमा महराको पद गयो , पक्राउ परे । महराले सफाइ पाएको समचार आउना साथ प्रधानमन्त्री ओलीले तत्कालिन उपसभामुख डा. शिवमायाँ तुम्वाहाम्फेलाई हतार हतार मन्त्री नियुक्त गर्नु संयोग मात्रै हो त ?

राज्य कतिसम्म निर्मम हुन्छ ?
पूर्व सभामुख महरालाई स्वभाविक अवस्थामा फर्कन अझै केही महीना लाग्न सक्छ । किनकी यो त जिन्दगीको धेरै नै ठूलो घटना हो । सामान्य मान्छेले थेग्न पनि सक्दैन, तर, नेपालको इतिहासमा यो पहिलो घटना भने होइन । यस्ता षड्यन्त्र तथा घटना धेरै भएका छन् ।

तत्कालिन काठमाडौं उपत्याकाका राजा भीम मल्लले नेपाल एकीकरणको तयारी गरेका थिए । त्यतिबेला नेपाल एकीकरण गर्ने सामथ्र्य मल्ल राज्यसँग थियो पनि, तर, उनीमाथि यति ठूलो षड्यन्त्र भयो कि, आत्माहत्या गर्न विवस भए । उनी राजनीलाई पिटिपिटि जिउँदै जलाइयो । भीमसेन थापालाई समेत आत्महत्या गर्न लगाइयो, उनका श्रीमती, छोरी तथा दिदी बहिनीहरुलाई पोडेहरुको रखौटी बनाइयो ।

नेपाली कांग्रेसका प्रारम्भिक संस्थापक सभापति देवीप्रसाद सापकोटा चन्द्रशमशेर प्रधानमन्त्री हुँदा सुव्वा थिए । उनले तिब्बत कब्जा गर्न अंग्रेजलाई बाटो देखाउनु तथा सैन्य सहयोग गर्नु नेपालका लागि आत्माघाती कदम हुनेछ भन्ने लिखित राय दिए ।

यो राय दिएकै कारण उनलाई सर्वश्वहरण गरी देश निकाला गरियो । यता नेपालको सहयोगमा अंग्रेजहरुले तिब्बत कब्जा गर्ना साथ नेपाल र तिब्बतबीचको व्यापार सुक्यो । सिक्किमको नाथुला नाकाबाट अंग्रेजले सिधै व्यापार सुरु गरे । नेपाल कंगाल हुन थालेको त्यसैबेलादेखि हो ।

टाढा जानै पर्दैन । २०१७ साल पुस १ गते तत्कालिन राजा महेन्द्रले जननिर्वाचत सरकार तथा संसद विघटन गरी शासन सत्ताहतमा लिएको पर्सीपल्ट सरकारी सञ्चार माध्यम गोरखा पत्रमा कस्तो समाचार छापिएको थियो ? त्यो समाचार महराले एक पटक हेर्नु उचित हुन्छ ।

गृष्मबहादुर देवकोटाले लेखेको इतिहासको कितावमा त्यो समाचार उल्लेख गरिएको छ । त्यो समाचारमा भनिएको छ–‘ विश्वेश्वरप्रसाद कोइरालाको निवासमा खानतलासी गर्दा ५ प्याकेट कण्डम, ५ लाख भारु र झापाबाट कठतस्करीका लागि गरिएको तोक आदेश फेला पर्यो ।’ अरु समाचार त प्रवाह गरे गरे, कण्डम फेला परेको समाचार प्रवाह गर्नुको कारण थियो, सामाजिक रुपमा समेत सिध्याउने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.