काठमाडौं- दुईतिहाइभन्दा बढीको बहुमतसहितको नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्तिले अहिले देशभरका महिलाहरु आन्दोलित भएका छन्।
मन्त्री तामाङले एक विद्यालयको कार्यक्रममा सहभागीलाई सम्बोधन गर्ने क्रममा भने, ‘बंगलादेशमा कोही हाम्रा चेलीहरु डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनका लागी मैले सुन्या छुँ उसले कहिनकहीँ आफूलाई बेच्नै पर्छ। हामी यहाँबाट सारा कुरा छोडेर चेलीहरुलाई पढ्न विदेश पठाउँछौ तर उसले आफूलाई नसुम्किन सर्टिफिकेट आउदैन।’
सम्बोधनको सुरुवातदेखि नै निरासाजनक अभिव्यक्ति दिइरहेका मन्त्री तामाङले नै यसो भन्दा सबै अभिभावकहरुको मनमा चिसो पस्यो। मुलुकको कानुनमन्त्रीले भनेपछि त्यसमा तथ्य भएरै होला भन्ने आम अभिभावको मनमा पर्नु स्वभाविक हो। तर, देशको एक कानुनमन्त्रीले विना प्रमाण तथ्यहिन तरीकाले हचुवाको भरमा एक विद्यालयको कार्यक्रममा त्यतीसम्म गिरेर भन्न हुन्थ्यो की हुँदैनथ्यो?, अहिले बहसको विषय बनेको छ।
सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा उनको व्यापक आलोचना भइरहेको छ। विभिन्न महिलाहरु सञ्जाल तथा अधिकारकर्मीहरुले उनको राजीनामा माग तथा फाँसी दिनुपर्ने माग गरिरहेका छन्।
उनको यो सम्बोधन आउनुभन्दा एकदिन पहिले झापास्थित बि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइले दिएको यस्तै अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो। एक व्यापारीले आफ्नो स्वार्थका लागि भनेको हुनसक्छ भन्ने ठानेर त्यती धेरै अहसजताका साथ लिइएन तर मुलुककै एक मन्त्री जसले कानुनी कुरामा सम्पूर्ण पाटोको जिम्मेवारी लिएको हुन्छ, त्यही व्यक्तिले दिएको यस्तो अस्वभनीय र अमानविय अभिव्यक्तिले सरकार माथि नै नैतिकताको प्रश्न उब्जाएको छ।
भलै मन्त्री तामाङले माफी मागिसकेका छन्। माफी मागेर ती दिदीबहिनीको मनमा लागेका चोट र दिमागमा परेको मनोवैज्ञानिक असरलाई कसरी सम्बोधन हुन्छ। नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले यस्ता व्यभिचारी मन्त्रीले राजीनामा दिनैपर्ने जिकिर गरेकी छन्। मन्त्री तामाङकै पार्टी नेकपाका महिलाहरुले पनि उनको अभिव्यक्तिप्रति आपत्ति जनाइसकेका छन्।
नेकपाकै प्रवक्ताले सोही दिन ट्वीट गरेर महिलाका विषयमा गरिएको टिप्पणी आपत्तिजनक भएको उल्लेख गरेका छन्। उनले ट्वीटमा लेखेका छन्, ‘ब्यबसायी दुर्गा प्रसाईंले बंगलादेशमा चिकित्साशाश्त्र अध्ययन गर्ने नेपाली महिला बिद्यार्थीहरुका बारेमा गरेको सार्बजनिक टिप्पणी अन्त्यन्त आपत्तिजनक छ।यसको भर्त्सना गर्दै सार्बजनिक आत्मालोचनाको माग गर्दछु।साथै कानुनमन्त्रीको यस्तै टिप्पणी अत्यन्त दु:खद छ।सरकारको गम्भीर ध्यान जाओस ।’
त्यसैगरी नेपाल विद्यार्थी संघकी नेतृ उर्मिला थपलियाले यसरी नारी अस्मितामाथि धावा बोल्ने अधिरकार कसैसँग नभएको भन्दै फाँसीको सजाय दिनुपर्ने भन्दै अक्ष्म्य गल्ती गरेको बताएकी छन्। तर, हाम्रो मुलुकमा फाँसीको सजाय छैन।
यसरी उनी माथि सार्वजनिक दबाब आइरहँदा पनि माफि मागि सकेको छु भन्दै सहज रुपमा पन्छिएर पदमै आसीन छन्। यस्तो किसिमको अभिव्यक्तिले यदी नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने बेला हो।
बंगलादेशमा गएका विद्यार्थीहरुले उनको अभिव्यक्तिप्रति आपत्ती जनाउँदै आवश्यक कारबाहीको माग गरेका छन्। मुलुकमा जसले कानुन बनाउँछ र कार्यान्वयनको जिम्मा लिन्छ उसैले कानुनलाई मिचेर अघि बढ्नु पक्कै पनि नैतिक जिम्मेवारीको संकट नै भएको बुझ्न सकिन्छ।
आम महिलाहरुले कानुन मन्त्रीले राजीनामा दिने मिति कुरेर बसेका छन्। तर, मन्त्री भने टसको मस भएको देखिदैन। नैतिकताको खडेरी परेको देशमा उनले राजीनामा दिएर थप नैतिकता जोगाउनेतिर लाग्नु नै उत्तम मान्न सकिन्छ।
उनले यसअघि पनि डा केसीको बेमौसमी अनशन भएको र गोहीको आँशु झारीरहेको अभिव्यक्ति दिएका थिए। उनको यो गैरजिम्मेवार अभिव्यक्तिले पनि सामाजिक सञ्जाल निकै तरंगित भएको थियो। सरकारले यस विषयमा पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन। यस विषयमा सरकार पनि किन मौन छ भन्न प्रश्न पनि उब्जिएको छ।