कानुन मन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, देउवाको भ्रमण पनि स्थगित

| 2018 Jul 23 | 07:33 am 1698

काठमाडौं, साउन ७: बंगलादेशमा अध्ययन गरिसकेका र अध्ययनरत छात्राप्रति लक्षित गरी कानुनमन्त्री शेरबहादुर तामाङ र प्रस्तावित मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले दिएका अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ।

‘केही समययता चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा जारी बहस र आन्दोलनक्रममा सत्ता पक्षधर केही व्यक्तिबाट अभिव्यक्त धारणालाई गम्भीर रूपमा लिएका छौं,’ कांग्रेसले आइतबार विज्ञप्ति जारी गरी भनेको छ, ‘बंगलादेशमा अध्ययन गरिसकेका र अध्ययनरत चेलीको अस्मिता र सामाजिक प्रतिष्ठा हेक्का नराखी व्यक्त धारणा निन्दनीय र आपत्तिजनक छन्।’ मन्त्री तामाङले आफ्नो अभिव्यक्तिका बारेमा विज्ञप्तिमार्फत माफी मागिसकेका छन्।

देउवाको भ्रमण स्थगित

कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका कारण सिंगापुर भ्रमण स्थगित गरेका छन्। स्वास्थ्य जाँचका लागि उनी आइतबार सिंगापुर जाने तयारीमा थिए।

डा. गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै सरकारविरुद्ध आन्दोलन जारी रहेका बेला पार्टी नेताहरूले देउवालाई विदेश नजान सुझाव दिएका थिए। कांग्रेसले विज्ञप्तिमार्फत सभापतिको सातदिने विदेश भ्रमण कार्यक्रम स्थगित भएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.