कानुनविपरीत काम गरेको भन्दै समाज कल्याणका उपाध्याक्षसहित ५ जना पदमुक्त

रिपोर्ट नेपाल | 2019 Feb 21 | 05:01 pm 2025

काठमाडौं, फागुन ९ : समाज कल्याण परिषद्का उपाध्याक्षसहित ५ जनालाई पदमुक्त गरिएको छ । यही फागुन ३ गते बसेको मन्त्रपरिषद् बैठकले  बदनियतपूर्ण र कानुनविपरीत काम गरेको भन्दै उपाध्याक्षसहित ५ जनालाई पदमुक्त गरिएको हाे ।

परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु इन्द्रकुमार झा, सदस्य गोकर्णप्रसाद भट्ट र सदस्य-सचिवडिल्लीप्रसाद भट्टलाई पदमुक्त गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

बदनियतपूर्ण र कानूनविपरीत कार्यहरूगरी समाज कल्याण परिषद्लाई हानी पुर्‍याएकाले उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले बताए।

मन्त्रिपरिषद्‌ बैठकका निर्णय सार्वजनिक गर्ने बिहीबार सिंहदरबारमा आयोजित पत्रकारसम्मेलनमा मन्त्री बाँस्कोटाले समाज कल्याण परिषद्‌मा भएको आर्थिक, प्रशासनिक लगायतको अनियमितताका सम्बन्धमा प्रचलित कानुनबमोजिम थप अनुसन्धान गरी कानुनी कारबाही गर्न प्रतिवेदनको प्रतिलिपि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णयसमेत गरिएको जानकारी दिए ।

मुलुकमा भ्रष्टाचार र बेइमानी गर्नेलाई कानुनी कारबाही गर्न सरकार पछि नपर्ने उनले बताए । समाज कल्याणको अनियमिततापछि कारबाही अघि बढाएकोमा भ्रष्टाचार बढेको नभएर कारबाही गरेको विषयलाई प्रचार गरिदिन मन्त्री बाँस्कोटाले सञ्चारकर्मीलाई आग्रह गरे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.