कैलाली, पुस १५ : जम्मा एक लाख लगानी गरे काठेपुल बन्न सक्छ। जनता सजिलै आवतजावत गर्न सक्छन्। तर, कैलालीको कैलारी गाउँपालिकाले पुललाई आम्दानीको स्रोत बनाएको छ। स्थानीय जनताले प्रत्येकपटक हिँडेर पुल तर्दा १५ रुपैयाँ र मोटरसाइकलबाट तर्दा ३५ रुपैयाँको टिकट काट्नुपर्छ। पुल बनाउन र सञ्चालन गर्न ठेकेदारलाई जिम्मा दिएर गाउँपालिकाले चारवटा काठेपुलबाट वार्षिक १५ लाख रुपैयाँ राजस्व उठाउन थालेको छ।
गाउँपालिकाभित्र पर्ने मोहना नदी तर्न निमुवाबोझी, खोनपुर, गोबरैला र मोहनपुर गरी चार घाटमा गाउँपालिकामार्फत काठेपुल बनाइएका छन् नदीपारिका बस्ती मोहनपुर, शिवरत्नपुर र भारतीय बजार चन्दनचौकीमा ओहोरदोहोर गर्न वर्षायाम सकिएपछि काठेपुल राखिएको हो।
नदीमा पुल नभएकाले विगतदेखि नै पैसा तिरेर नदी पार गर्ने गरेको वडा नम्बर–१ हसुलिया गाउँकी सोनम चौधरीले बताइन् नदी तर्ने अर्को कुनै विकल्प नहुँदा चर्को शुल्क तिर्नुपर्ने बाध्यता रहेको उनले बताइन्।
गाउँपालिका कार्यालयले काठेपुल निर्माण गरी कर असुल्न ठेकेदार खटाएको छ। विगतमा गाविस कार्यालयमार्फत काठेपुल तरेको कर असुली हुने गरेकोमा जनप्रतिनिधि आएपछि स्थानीय तहले पनि यो कार्यलाई निरन्तरता दिएको हो। जनप्रतिनिधि आएपछि पैसा तिरेर खोला तर्नुपर्ने बाध्यता अन्त्य हुने आशा गरेका स्थानीय अहिले पनि शुल्क तिर्नुपर्दा खिन्नता व्यक्त गर्छन्। गाउँपालिका कार्यालय आफैंले काठेपुल राखेर विनाशुल्क नदी तर्ने व्यवस्था गर्न सक्ने भए पनि त्यसो नगरिएको स्थानीयको भनाइ छ पुल नभएकाले वर्षायाममा नदीमा ठेकेदारमार्फत डुंगा चलाइने गर्छन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।