काठमाडौं, फागुन ३ : काठमाडौंको सुन्धारामा रहेको काठमाडौं मल कर्मचारी सञ्चय कोष आफैले सञ्चालन गर्ने भएकाे छ ।
ठेक्कामा दिँदा पटक-पटक समस्या आएपछि कोषले पसल–कवल भाडामा लिएर व्यवसाय गरिरहेका व्यापारीलाई हटाएकाे जनाएकाे छ ।पसल हटाएर कर्पोरेट कार्यालय राख्न भाडामा दिने कोषको योजना छ ।
डन राजु गोरखालीले ठेक्का लिएर चलाएदेखि थला परेको कोषका अधिकारी बताउँछन् । ०७३ माघदेखि मल व्यवस्थापनको जिम्मा गुण्डा नाइके गोरखालीलाई दिइएको थियो । गोरखाली समूहसँगको ठेक्का तोडिएको थियो ।
अब बैङ्क तथा वित्तीय संस्था, सरकारी कार्यालयजस्ता कर्पोरेट अफिसलाई मात्र भाडामा दिने तयारी गरिएको छ । डन गोरखालीका कारण एकातिर भवनको बेहाल भएको थियो भने अर्कोतर्फ जथाभावी भाडा असुलेर व्यापारीको भागाभाग भएको थियो ।
गोरखालीसँग ठेक्का तोडिएपछि मलमा भएका केही व्यापारीले राजनीतिक शक्ति प्रयोग गरी समिति बनाएर सोही समितिमार्फत कोषको भवन चलाउने चलखेल गर्दै आएका थिए ।