काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढे

| 2019 Apr 19 | 06:57 am 2148

काठमाडौं, वैशाख ६: काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ। भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि भएको हो।

काठमाडौं–दिल्लीका यात्रुलाई हवाई टिकट पाउन गाह्रो भएको ट्राभल एजेन्सीले जनाएका छन्। जेटले हरेक उडानमा एक सय ६८ यात्रुलाई सेवा दिँदै आएको थियो। अहिले दैनिक करिब पाँच सय यात्रुको चाप अन्य वायुसेवामा परेको छ।

काठमाडौं–दिल्ली वायुसेवा कम्पनीका निम्ति लाभदायक गन्तव्य हो। काठमाडौं–दिल्लीको दुईतर्फी उडान गर्ने अन्य वायुसेवाले पनि पर्याप्त मात्रामा उडान थप गर्न सकेका छैन। कम्तीमा एक साता अगाडिको टिकट पाउन गाह्रो पर्ने एरोलिना टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक यमबहादुर खड्काले बताए। उनका अनुसार एक साताअगाडि ८/९ हजार रुपैयाँमा पाइने टिकट अहिले २८ हजार रुपैयाँ पनि पाउन कठिन छ।

खड्काका अनुसार बिहीबार मात्रै काठमाडौंबाट दिल्लीको टिकट किन्न आएका अमृत ढुंगानालाई तीन दिनपछिको इकोनोमी क्लासको टिकट लिन हम्मेहम्मे पर्‍यो। ढुंगानाले बल्लबल्ल २८ हजार रुपैयाँमा नेपाल एयरलाइन्सको काठमाडौंबाट दिल्लीको एकतर्फी टिकट पाए।

टिकट बिक्री गर्ने व्यवसायी आफैं दिल्लीबाट काठमाडौं फर्कने हवाई टिकट नपाएकै कारण दुई दिन लगाएर काठमाडौं आउनुपरेको छ। प्रिज्म इन्टरनेसनल ट्राभल एन्ड टुर्सकी प्रबन्ध निर्देशक बिन्दु प्रधान गत चैत २९ गते दिल्लीबाट गोखरपुर हुँदै भैरहवाको बाटो भएर काठमाडौं आएकी छन्। उनले भनिन्, ‘दिल्ली–काठमाडौंको सीधा हवाई टिकट नपाएपछि दिल्लीबाट गोरखपुर जहाजमा आएँ।’ सुनौलीबाट सवारीसाधनमा भैरहवा र त्यसपछि जहाजबाट काठमाडौं आएको उनले बताइन्। उनले भनिन्, ‘दिल्लीबाट काठमाडौं आउन ३२ हजार रुपैयाँ भन्दा कमको टिकटै पाइएन।’

नेपाल वायुसेवा निगमले उडान थप नगर्दा टिकट पाउनै मुस्किल भएको खड्काले बताए। यात्रु चापलाई हेर्दा निगमले ८/१० वटा उडान थप गर्‍यो भने पनि खचाखच हुनेछ खड्काले भने। यही गन्तव्यमा हाल भारतीय वायुसेवाले ४० हजारभन्दा बढी एकतर्फी टिकटका पैसा लिने गरेको छ।

नेपालमा उडान गर्ने वायुसेवा कम्पनीमा नेपाल वायुसेवा निगमपछि जेट एयर सबैभन्दा बढी यात्रु बोक्नेमा पर्छ। यो वायुसेवाले सन् २०१८ मा मात्रै चार लाख ५० हजार नौ सय ४९ यात्रुलाई सेवा दिएर नेपालबाट अन्तर्राष्ट्रिय उडानका यात्रुलाई सेवा दिनेको दोस्रो सूचीमा परेको छ। यसले ३१ सय ३८ उडानमार्फत काठमाडौंमा दुई लाख २४ हजार चार सय ९५ यात्रुलाई अवतरण गराएको छ भने काठमाडौंबाट दुई लाख २६ हजार चार सय ५४ यात्रुलाई बाहिर लगेको छ।

भारतीय पर्यटकलाई सेवा दिने यो वायुसेवाको काठमाडौं उडान नाफामूलक भए पनि आन्तरिक समस्याका कारण उडान स्थगित गरेको हो। काठमाडौं–दिल्ली रुटमा नेपाल वायुसेवा र एयर इन्डियाले दैनिक दुईदुई उडान गर्छन्। इन्डिगोले दैनिक एउटा उडान गर्छ। ड्रुक एयरले पनि दिल्ली–काठमाडौं ट्रान्जिट उडान गर्दै आएको छ।

तीन उडान थप्दै निगम

वायुसेवा निगमले काठमाडौं–दिल्ली रुटमा वैशाख १८ देखि सातामा तीन उडान थप गर्दैछ। हाल सातामा ११ वटा काठमाडौं–दिल्ली दुईतर्फी उडान गरिरहेको निगमले तीन उडान थपेर दैनिक दुई उडान गर्ने भएको छ। यसअघि पनि निगमले दैनिक दुई उडान गर्दै आएको थियो।

यात्रु चाप घटेकै कारण सातामा ११ वटामा सीमित गरेको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए। निगमले दैनिक तीन वटासम्मको उडान तयारी गरिरहेको छ, उनले भने। अन्नपूर्णपाेष्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.