काठमाडौं, चैत्र १: संघीय राजधानी काठमाडौं उपत्यकामा पार्किङको समस्या विकराल बन्दै गएको छ । अस्तव्यस्त र अव्यवस्थित पार्किङकै कारण उपत्यकामा ट्राफिक जाम बढिरहेको पाइन्छ भने फुटपाथमा समेत पार्किङ गरिँदा सर्वसाधरणले अनावश्यक हैरानी पाइरहेका छन् ।
अस्तव्यस्त पार्किङको समस्या देखेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर कसरी व्यवस्थित गर्न सकिन्छ भनेर लागिपरेका छन् । राज्यमन्त्री मानन्धरले उपत्यकाका नदी किनारका करिडोर सडकको खाली स्थान पहिचान गरेर पार्किङ व्यवस्थापन थालिएको बताएका छन् ।
राज्यमन्त्री मानन्धरले शुक्रबार काठमाडौंका सडकको अवस्था बुझ्न पैदल यात्रा गरे । त्यस क्रममा उनले काठमाडौं उपत्यकामा बढ्दो सहरी चापका कारण जाम बढेको बताउँदै दिगो पार्किङ व्यवस्थापनका लागि पनि आफू लागि परेको बताए ।
बाग्मती विष्णुमती धोवीखोलालगायतका करिडोर सडकका खाली स्थानमा पार्किङको व्यवस्थापन गर्न लागिएको बताउँदै भित्री सहरका खाली स्थान पहिचान गरेर पार्किङ क्षेत्र तोकिने उनले बताएका छन् । राज्यमन्त्री मानन्धरले पार्किङको अस्तव्यस्त भयावह स्थिति अन्त्यका लागि केही दिन अगाडि पनि सरोकारवाला निकायसँग कसरी पार्किङ व्यवस्थित बनाउन सकिन्छ भनेर छलफल गरेका थिए ।
मानन्धरले ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालसहित सरोकारवालासँग यस विषयमा छलफल गरेका छन् । उनले काठमाडौं उपत्यकाको पार्किङ व्यवस्थापन अस्तव्यस्त भएको भन्दै योजना बनाउन सरोकारवालालाई निर्देशन दिएका थिए ।
ट्राफिक प्रहरी प्रमुख ढकाल, महानगर प्रहरीका प्रमुख धनपति सापकोटालगायत वरिष्ठ अधिकारी सहभागी कार्यक्रममा मन्त्री मानन्धरले उपत्यकामा तत्कालीन र दीर्घकालीन पार्किङको योजना बनाउन निर्देशन दिएका थिए ।
त्यस क्रममा उनले सहरमा खाली रहेका जमिनमा व्यवस्थित पार्किङ स्थल बनाउने योजना अघि सारेका थिए । उपत्यकामा खाली रहेका स्थानमा व्यवस्थित पार्किङ स्थल बनाइने र ती स्मार्ट हुने गरी निर्माण गर्ने कार्ययोजनामा उनको जोड थियो । राजधानी दैनिकबाट