काठमाडौं उपत्यकाको तापक्रम एक डिग्री सेल्सियस, जुम्लामा माइनस ६ दशमलव ४ डिग्री सेल्सियस

रिपोर्ट नेपाल | 2019 Dec 26 | 09:50 am 1512

काठमाडौं, पुस १०: संघीय मुलुकको केन्द्रीय राजधानी काठमाडौं उपत्यकाको तापक्रम घट्नेक्रम जारी छ । काठमाडौंको तापक्रम आज बर्षकै न्यून मापन गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिए ।

महाशाखाका अनुसार बिहीबार बिहान काठमाडौंको तापक्रम एक डिग्री सेल्सियस मापन गरिएको छ । जुन यो बर्षकै न्यून मापन हो । बुधबार तीन डिग्री सेल्सियस मापन गरिएको थियो । एक दिनकै अन्तरमा तापक्रम २ डिग्रीले घटेको हो।

यतिबेला देशका अन्य भूभागमा पनि तापक्रम घटेको छ। चिसो बढेका कारण बिशेषगरी वृद्ध–वृद्धा र बालबालिका प्रभावित भएका छन् । तराइका कतिपय स्थानमा जाडो छल्न प्रहरीले चोक चोकमा आगो ताप्ने व्यवस्था गरेको छ भने केहि स्थानमा दाउरा वितरण समेत गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसैगरी डडेल्धुरामा २ डिग्री, वीरेन्द्रनगरमा २ दशमलव ७ डिग्री र ताप्लेजुङमा ४ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ।

आज पनि अधिकांश तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसम पुर्वानुमान महाशाखाले जनाए । त्यसैगरी मध्य, पूर्व र पश्चिमका धेरैजसो पहाडी भू–भागको मौसम आंशिकदेखि सामान्य बदलीसमेत हुने महाशाखाको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.