काठमाडौंमा फोहोर उद्योग कारखाना

रिपोर्ट नेपाल | 2022 Jul 18 | 07:47 am 1133

काठमाडौं, साउन २ः काठमाडौं महानगरपालिकाले फोहोरमैला उद्योग स्थापना गर्न ६५ करोड बजेट छुट्याएको छ । महानगरको फोहोरबाट मललगायत अन्य वस्तु उत्पादन गर्ने उद्देश्यले आधुनिक प्रविधिको उद्योग स्थापना गर्न लागिएको हो ।

कामपाको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा फोहोरमैलासम्बन्धी आधुनिक उद्योग स्थापना गर्न ६५ करोड रुपियाँ विनियोजन गरिएको बजेट पुस्तिकामा उल्लेख छ । छपाइको क्रममा रहेको बजेट पुस्तिकाको ९ सय ३ बुँदामा यसको विवरण दिइएको छ ।

कामपाका सार्वजनिक निर्माण विभाग प्रमुख निर्देशक रामबहादुर थापाले तत्काल स्थान पहिचान गरी उद्योग स्थापना गर्ने तयारी भइरहेको जानकारी नेपाल समाचारपत्रलाई दिएका छन् । उनका अनुसार कामपाले सहयोग गरेका उपत्यकाका नगरपालिकासँग उद्योग स्थापना गर्न खाली क्षेत्र उपलब्ध गराउन माग गरिएको छ ।

‘हामीलाई फोहोर उद्योग स्थापना गर्न आवश्यक पर्ने करिब ४० देखि ५० रोपनी जग्गा आवश्यक पर्छ । उक्त जग्गा खोज्न महानगरले छिमेकी नगरपालिकासँग आग्रह गरेको छ’, विभागीय प्रमुख थापाले भने– ‘जग्गा उपलब्ध भए दुईतीन महिनाभित्रै उद्योग स्थापना गरी उत्पादन शुरु गर्ने तयारी गरेका छौं ।’

कामपाका मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव यादवले बजेटमा व्यवस्था भएअनुसार काम अघि बढाइने बताए । ‘उपत्यकाको स्थानीय निकायका मेयरहरूसँग कुराकानी भइरहेको छ, स्थान पाउनासाथ काम शुरू गर्ने सोचमा छाैं । कामपाले दक्षिणकाली नगरपालिका, चन्द्रागिरि, टोखा मध्यपुर नगरपालिका प्रमुखसँग कुराकानी भइरहेको जनाएको छ । जग्गा पहिचान हुनेबित्तिकै उद्योग स्थापना गर्ने तयारीमा लागेका छौं’ – यादवले भने ।

सार्वजनिक निर्माण विभागका निर्देशक थापाले समस्या जग्गा प्राप्तिको रहेको बताए, भने– ‘रकमको समस्या छैन, जग्गा पाउनासाथ उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढाउनेछौं ।’ निर्देशक थापाले उद्योगको भौतिक संरचना सामान्य हुनेछ । तर यन्त्र उपकरणको लागि बढी खर्च हुने जानकारी दिए ।

कामपाले फोहोरलाई उत्पादनसँग जोड्नेगरी उद्योग स्थापना गर्न लागेको दाबी गरेको छ । बन्चरे ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्दा खर्च बढी हुने भएपछि आफ्नै लगानीमा कामपाले उद्योग स्थापना गर्न लागेको हो । कामपाले दैनिक करिब ४ देखि ५ सय टन फोहोर व्यवस्थापन गर्न उद्योग स्थापना गर्न लागेको हो ।

महानगरले दुर्गन्धरहित फोहोर उद्योग स्थापना गर्न लागेको जनाएको छ । महानगरको यो योजना सफल भए महानगर र यससँगै जोडिएका नगरपालिकाको फोहोर व्यवस्थापन सहज हुने जनाएको छ । त्यसका लागि छिमेकी स्थानीय तहको सहयोगमा आधा दर्जनभन्दा बढी स्थान अवलोकन गरिसकेको जानकारी दिइएको छ ।

कामपाको फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन र फोहोरको परिमाण घटाउन कामपा आफैंले पहिलोपटक आधुनिक उद्योग स्थापना गर्न लागेको हो । कामपाले बन्चरे ल्यान्डफिल साइटमा फोहोरको मात्रा कम गराउन नयाँ उद्योग स्थापना गर्न लागेको हो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.