काठमाडौं, जेठ १३: काठमाडौंकाे कीर्तिपुर नगरपालिकाको वडा नम्बर–४ र ९ तथा चन्द्रागिरी नगरपालिकाको वडा नम्बर–२ का कृषकले पालेका कुखुरा, हाँस र टर्कीमा बर्डफ्लूको संक्रमण देखिएको पशु सेवा विभागले जनाएको छ।
बर्डफ्लूको संक्रमण पुष्टि भएपछि यसको नियन्त्रण तथा रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहका पशुसँग सम्बन्धित निकाय परिचालन गरी सो क्षेत्रका पन्छी नष्ट गरिएको विभागका सूचना अधिकारी चन्द्र ढकालले बताए।
उक्त क्षेत्रका कृषकले पालेका ५ सय ३५ टर्की, ४ सय ९२ स्थानीय कुखुरा, ७६ बट्टाई, २० वटा हाँस, १ सय ७८ वटा अण्डा र ९ सय केजी दाना नष्ट गरिएको विभागका सूचना अधिकारी ढकालले बताए।
अस्वभाविक रुपमा टर्की मरेको सूचनापछि विभागले नमूना संकलन गरेर त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गत सोमबार पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लूको संक्रमण पुष्टि भएको हो।
यसअघि काठमाडौंको तारकेश्वर, ललितपुरको नख्खु, सुर्खेत, जाजरकोट लगायत क्षेत्रमा पालिएका कृषकले लोकल कुखुरा र टर्कीमा बर्डफ्लूको संक्रमण देखिएको थियो।