काठमाडौंमा ‘क’ वर्गका बैंकले तीनवटा मात्र शाखा खोल्न पाउने

रिपोर्ट नेपाल | 2021 May 25 | 08:27 am 2041

काठमाडाैं, जेठ ११ः दोस्रो लहरको कोरोना महामारी नियन्त्रणमा सघाउन भन्दै नेपाल राष्ट्र बैंकले थप कडाको नीति लिएको छ। केन्द्रीय बैंकले सोमबार सूचना जारी गर्दै काठमाडौंमा ‘क’ वर्गका बैंकले तीनवटा मात्र शाखा खोल्न पाउने व्यवस्था गरेको हो।  तिनले निषेधाज्ञा अवधिभर ललितपुरमा दुई र भक्तपुरमा एउटा मात्र शाखा खोल्न पाउने छन्।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको सूचनामा कोभिड–१९ को जोखिम न्यूनीकरण गर्दै उच्च सतर्कताका साथ सेवा प्रवाह गर्नुपर्ने भनिएको छ। मंगलबारदेखि लागू हुने व्यवस्था अनुसार ‘ख’ विकास बैंकहरूले काठमाडौंमा दुई, ललितपुर र भक्तपुरमा एक/एक शाखा खोल्न पाउनेछन्। ‘ग’ वर्गका वित्त कम्पनीले भने तीनवटै जिल्लामा एक/एक शाखा मात्र खोल्न पाउनेछन्।

कोरोना महामारी नियन्त्रणका लागि वैशाख १६ मा निषेधाज्ञा जारी भएयता बैंकका २५ प्रतिशत शाखा सञ्चालन हुँदै आएका थिए। यसले पनि भीड र चहलपहल नियन्त्रण नभएको र महामारी नियन्त्रणमा समस्या परेको ठानेर नयाँ व्यवस्था गरिएको बताइएको छ।

बैंकमा हुने भीड नियन्त्रण गर्न अघिल्लो साता ५० हजार रूपैयाँभन्दा कम निक्षेप नलिने निर्णय गरिएको थियो। ती प्रयास पनि कामयावी हुन नसकेपछि नयाँ उपाय खोजिएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.