काठमाडौंको तापक्रम फेरि घट्यो, हुम्लामा माइनस १३

| 2018 Dec 28 | 07:07 am 1386

काठमाडौं, पुस १३ : पुस सुरु भएसँगै देशभरको तापक्रममा गिरावट आएको छ। राजधानीमा बिहीबारट सुरु भएको चिसो हावा शुक्रबार पनि कायम छ।

उत्तरतिरको हिमाल छोएर आउने हावामा चिसोको मात्रा बढी हुन्छ। केही वर्षअघिसम्म पश्चिम दिशाको हावामात्रै प्रवेश हुने राजधानी खाल्डोमा अहिले उत्तर/पश्चिमी दिशा भएर हावा बहने गरेकाले चिसो वायुको मात्रा बढी भएको र तापक्रम घटेको मौसमवीदले जनाएका छन्। उच्च पहाडी र हिमाली भेगमा हिमपातले जनजीवन प्रभावित बनाएको छ भने तराई मधेस क्षेत्रमा शितलहर र चिसोले जनजीवन प्रभावित पारेको छ।

शुक्रबार बिहान काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ। आज काठमाडौंको अधिकतम तापक्रम १५ डिग्रीसम्म पुग्‍ने अनुमान गरिएको छ। बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्री मापन गरिएको थियो। शनिबार काठमाडौंको तापक्रम माइनस २ डिग्रीसम्म झर्ने अनुमान गरिएको छ। हुम्लामा हिमपात भएपछि शुक्रबार बिहान सिमिकोटको तापक्रम माइनस १३ डिग्री सेल्सियसमा झरेको छ ।

बिहीबार माइनस ८ डिग्रीमा झरेको जुम्लाको तापक्रम शुक्रबार बिहान माइनस ६ दशमलव २ डिग्री मापन गरिएको छ। त्यस्तै दिपायलको तापक्रम १ दशमलव ८ डिग्री मापन गरिएको छ। डडेल्धुराको तापक्रम माइनस १ दशमलव ३ डिग्री, जिरीको तापक्रमा माइनस २ दशमलव ५ डिग्री मापन गरिएको छ।

आज देशका पहाडी भुभागहरुमा आंसिक बदलीको सम्भावना रहेको र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ| देशको उच्च हिमालि भेगका १-२ स्थानमा हल्का हिमपात हुने संभावना रहेको पनि महाशाखाले जनाएको छ।

काठमाडौंमा आज शुक्रकार बिहान सुर्योदय बिहान ६ बजेर ५३ मिनेटमा भयो भने सुर्यास्त बेलुका ५ बजेर १७ मिनेटमा हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.