३ तले घरको झ्यालबाट हाम्फाल्दा २ जुवाडेको मृत्यु, २३ जना पक्राउ

| 2018 Oct 06 | 08:29 am 2807

काठमाडौं, असोज २० : काठमाडौंको बौद्ध मूलपानीमा जुवा खेलिरहेको स्थानमा प्रहरीले छापा मार्ने क्रममा झ्यालबाट हाम्फालेर भाग्न खोजेका दुई जुवाडेको मृत्यु भएको छ । भाग्ने क्रममा ३२ वर्षीय सरोज घले र सिन्धुपाल्चोकका ४३ वर्षीय सोमलाल तामाङको मृत्यु भएको हो ।

मूलपानीस्थित टेण्डु शेर्पाको साढे तीन तले घरमा सङ्गठित रूपमा जुवा खेलाएको भन्ने सूचनाका आधारमा पुगेको काठमाडौं प्रहरी परिसरको टोलीले छापा मार्ने क्रममा जुवा खेलिरहेकामध्ये दुई जना घरको तेस्रो तलाको झ्यालबाट हाम्फालेका थिए ।

सिमेन्टको भुइँमा बजारिएका उनीहरूलाई प्रहरीले गम्भीर घाइतेको अवस्थामा ग्वार्कोस्थित बीएण्डबी अस्पताल पुर्‍याएको थियो । अस्पताल पुुर्याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषित गरेको काठमाडौं प्रहरी परिषद् प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए ।

उनका अनुसार प्रहरी टोलीले घर घेरा हालेर पहिलो तलाको च्यानल गेट तोड्ने प्रयास गरेपछि जुवाडेहरूले थापा पाएका थिए । त्यसपछि भागाभाग चलेको थियो ।

प्रहरीले जुवाको अखडाबाट ४ लाख ५८ हजार २२५ रुपैयाँ बरामद गरेको छ । त्यस्तै जुवा खेलिरहेका १ महिलासहित २३ जनालाई पक्राउ गरिएको एसएसपी वसन्त लामाले जानकारी दिए । यो समूहले फरक फरक घरमा हरेक दिन जुवा खेलाउने गरेको र त्यसबापत घरधनीलाई एक रातको १० हजार रुपैयाँसम्म शुल्क तिर्ने गरेको पनि एसएसपी लामाले जानकारी दिए ।

एसएसपी लामाका अनुसार अखडामा ३० जनाभन्दा बढी रहेको र अन्य घरको छतैछत भागेका थिए । उनीहरूको पनि खोजी भइरहेको उहाँले बताउनुभयो । चाडपर्व जनिकिएसँगै जुवातासको अखडामा प्रहरीले आफ्नो सक्रियता बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.