काठमाडौँ उपत्यकाकै बजारमा केही दिनदेखि सिटामोलको अभाव

रिपोर्ट नेपाल | 2021 Jun 12 | 07:06 am 1705

काठमाडौँ, जेठ २९ः काठमाडौँ उपत्यकाकै बजारमा केही दिनदेखि सिटामोलको अभाव हुन थालेको छ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै सिटामोलको माग बढेपछि अभाव सुरु भएको हो ।

बजारमा सिटामोल अभाव हुन थालेपछि यतिबेला आमउपभोक्ता मेडिकल पसल चहार्न थालेका छन् । पछिल्लो समय अस्पताल जानेभन्दा घरमा आइसोलेसनमा बस्ने सङ्क्रमित धेरै हुँदा सिटामोल खरिद उच्च हुन पुगेको छ ।

उपभोक्ता अधिकारकर्मी भने औषधि उत्पादक व्यवसायीले कोभिडको यो सङ्कटको बेलामा औषधिजस्तो संवेदनशील विषयमा कृत्रिम अभाव सिर्जना गरेको बताउँदै आएका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले व्यवसायीको निजी स्वार्थपूर्तिका लागि अहिलेको परिस्थितिमा जुनसुकै बेला आवश्यक पर्ने सिटामोलको अभाव सिर्जना गरेको बताए ।

उनले भने, “अहिले बजारमा दुई कारणले सिटामोल अभाव भएको छ । एक भारतमा महँगो मूल्य पाइने भएकाले निर्यात गरिएको छ। अर्को भएको सिटामोल लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गरिएको छ । ”

नेपाल औषधि उत्पादन सङ्घका महासचिव विमल अधिकारीले सिटामोलको उत्पादनमा कुनै कमी छैन तैपनि बजारमा अभाव देख्दा आफूलाई आश्चर्य लागेको बताए । सिटामोलको भाउ बढ्नुका तीन कारण रहेको भन्दै उनले भने, “पहिलो बजारमा उच्च माग, दोस्रो औषधि वितरकबाट भारतमा महँगोमा बिक्री, तेस्रो सिटामोलको कच्चा पदार्थको पनि अभाव हुन थालेको छ । ती सबैको असर अहिले बजारमा देखिएको छ । ”

उनले भने, “औषधि उत्पादनमा कुनै कमी अहिलेसम्म भएको छैन । पछिल्लो एक महिनाको बीचमा मात्रै डेढ करोड ट्याब्लेट सिटामोल उत्पादन गरेर बजारमा पठाएका छौँ । आज मात्रै ६२ लाख ट्याब्लेट बजारमा गएको छ । ”
बजारमा सिटामोलको अभावको हल्ला चलेपछि उत्पादक सङ्घले शुक्रबार उपत्यकाका तीन जिल्लामा सञ्चालित फार्मेसीमा अनुगमनका क्रममा पनि अभाव भएको पाइएको महासचिव अधिकारीले जानकारी दिए।

“बजारमा औषधि निर्बाध गइरहेको छ तर पनि बजारमा छैन किन ? यसबारेमा सरोकारवाला सबैलाई जानकारी गराइसकेका छौँ, कहाँ गएको छ त्यो सरकारका जिम्मेवार निकायले खोज्नुपर्याे नि,” महासचिव अधिकारीले भने । यस विषयमा सबैको ध्यानाकर्षण भइसकेकाले अर्को साता अभावको अवस्था नआउने उनको भनाइ छ ।

अहिले हामीले पर्याप्त मात्रामा सिटामोल पठाएका छौँ तर उपभोक्तासम्म नपुगेको देख्दा अचम्म लागेको छ, सङ्घका महासचिव अधिकारीले भने, “उत्पादन भए पनि बीचमा नै औषधि हराइरहेको छ । यसर्थ भारततर्फ निकासी भएको भन्ने आशङ्का छ । ”

त्यसो त यतिबेला भारतीय बजारमा भन्दा नेपाली बजारमा सिटामोलको मूल्य कम छ । नेपालमा एक रुपियाँ पर्ने सिटामोल भारतीय बजारमा भारतीय लगभग दुई रुपियाँ पर्न जान्छ । खुला सीमाका कारण नेपाली बजारमा खरिद गरेर भारतमा बेच्ने गिरोह सक्रिय हुँदा पनि नेपालमा उत्पादित सिटामोल व्यवसायीसम्म पुग्न नसकेको हुनसक्ने उद्योगीको आशङ्का छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.