काठमाडौँमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्थाकाे अन्त्य भयो: मन्त्री आले

| 2022 Jun 26 | 11:56 am 1385

कैलाली, असार १२ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन्।

कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माणकको शनिबार शिलान्यास गर्दै उनले सुदूरपश्चिमका यात्रुले प्लेन आउने–नआउने विषयमा काठमाडौँबाट जानकारी लिनुपर्ने अवस्थाको अन्त्य भएको बताएका हुन्। उनले भने, ‘जहाज सञ्चालन कम्पनीले जहाँबाट वेस लिएको छ, यहीबाट पहिलो उडान भर्नुपर्ने नियम लागु गराएको छु, अब धनगढीबाटै पहिलो उडान हुने छ, जहाज आउने नआउनेबारे काठमाडौँमा सोध्नु पर्दैन।’

यही असार १३ गतेबाट लागु हुने गरी आफ्नो बेस लिएका ठाउँबाट विमान सञ्चालक कम्पनीले आफ्नो पहिलो उडान भर्नुपर्ने निर्णय लागु भएको जानकारी गराउँदै मन्त्री आलेले अब गेटा विमानस्थलबाट पनि पहिलो उडान हुने बताए।

मन्त्री आलेले कैलालीको धनगढीस्थित गेटा विमानस्थलको स्तरोन्नतिसहित क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि शुभारम्भ भएको जानकारी गराए। ती संरचना निर्माणका लागि आन्तरिक स्रोतबाट एक अर्ब रूपैयाँ बजेट विनियोजन भएकाले तोकिएको समयमै निर्माण सम्पन्न गर्न समेत निर्माण व्यवसायीलाई उनले आग्रह गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.