काठमाडौं, असाेज ६: औषधिको गुणस्तर यकिन गर्न प्रयोगशालाबाट परीक्षण तथा विश्लेषण गराउने प्रावधान रहे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । कागजलाई आधार मान्दै औषधिको गुणस्तर परीक्षण हुने गरेको पाइएको छ ।
स्वास्थ्य सेवा विभागबाट टेन्डरमार्फत खरिद गरिने भ्याक्सिन, ब्लड प्रोडक्ट, इमिनोग्लोबिन, स्नेक भेनम, एन्टिसेरमलगायतका डकुमेन्ट अध्ययनको आधारमा प्रयोगशालाले लट रिलिज गर्दै आए पनि औषधिलाई प्रयोगशालामा परीक्षण गरिँदैन ।
यसैगरी, बजारबाट पाइने बायोलोजिकल प्रोडक्टको नमुना परीक्षणसमेत नेपालमा अहिलेसम्म हुन सकेको छैन । अत्यावश्यक औषधिका रूपमा रहेको भ्याक्सिन, ब्लड प्रोडक्ट, इमिनोग्लोबिन, स्नेक भेनम, एन्टिसेरमलगायतका नमुनाको गुणस्तर परीक्षण गर्ने प्रविधि र पूर्वाधार नहुँदा यसको परीक्षण कागजका आधारमा हुने गरेको छ ।
औषधि व्यवस्था विभाग मातहत रहेको राष्ट्रिय औषधि प्रयोगशालाले सोको नमुना परीक्षणका लागि आवश्यक प्रविधि नभएको स्पष्ट पारेको हो । यस्तै, अस्पतालमा प्रयोग हुने उपकरणहरू टेस्टिङ कीट, सिरिन्ज, कपास र स्वास्थ्य सेवा सामग्रीको नमुना परीक्षणका लागि आवश्यक पर्ने उपकरणसमेत नेपालमा छैन । जसका कारण, कतिपय औषधिको गुणस्तर जाँच कागजातका आधारमा गरिँदै आएको स्रोतको दाबी छ ।
स्वास्थ्य प्रविधि सामग्रीलाई औषधि व्यवस्था विभागले हेर्ने गरी सरकारले निर्देशिका तयार पारेको छ । प्रयोगशालाका अनुसार ती औषधिको परीक्षणका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र उपकरण नै छैन । क्यान्सरमा प्रयोग हुने औषधि साइटोटक्सिक औषधिको परीक्षण पनि प्रयोगशालाबाट हुँदैन ।
नयाँ नयाँ मलिकुल आए पनि प्रयोगशाला प्रविधिमैत्री बन्न नसकेको पाइएको छ । १८ हजार बढी ब्रान्डका औषधिको गुणस्तर परीक्षण गर्ने केन्द्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला २९ जना कर्मचारीको भरमा चलिरहेको छ । प्रयोगशालालाई सरकारले वास्ता नगर्दा परीक्षणका काम प्रभावकारी तबरबाट अगाडि बढ्न नसकेको पाइएको छ ।
विभिन्न किसिमका औषधि तथा सोमा प्रयोग हुने कच्चापदार्थको रासायनिक, जैविक, उपकरणीय, भौतिक परीक्षण तथा विश्लेषण कार्य गर्ने क्षेत्राधिकार दिइएको छ । तर, सोअनुसार प्रयोगशालाले दक्ष जनशक्ति पाउन सकेको छैन ।
पर्याप्त जनशक्ति, बजेट, उपकरणको अभावका कारण प्रयोगशालामा प्रभावकारी रूपमा परीक्षण हुन नसकेको प्रयोगशालाका निमित्त निर्देशक शैलेशकुमार झाले बताए ।
उनले यदि प्रभावकारी रूपमा परीक्षण गर्ने हो भने उपकरण र कम्तीमा ८० कर्मचारी आवश्यक पर्ने जनाए । उनले भने, ‘हामीले प्राप्त भएका औषधिका नमुना परीक्षण गर्दै आइरहेका छौं । जनशक्ति अभावले काम गर्न चुनौती भएको यथार्थ हो ।’ प्रयोगशालाले एलोपेथिक, आयुर्वेदिक र भेटेनरीका औषधिको प्राप्त नमुना परीक्षण गर्ने गरेको छ । राजधानी दैनिकबाट