काठमाडौं, माघ ८ : डा केसीको विरुद्ध अनशन बसेका विजय थापा अपराधिक पृष्ठभूमीका भएको खुलासा भएको छ। यसअघि उनी पेस्तोलसहित पक्राउ परेका थिए भने वाइसिएलको नाम लिंदै धमक्याएर पैसा असुलेको आरोपमा प्रहरीको खोजी सूचीमा भएको समेत खुलासा भएको हो।
ओखलढुंगाको साबिक सिस्नेरी गाविस ४ का थापा २०५८ सालमा बसाइँ सरेर उदयपुरको कटारी आएका थिए। उनको परिवार कटारी नगरपालिका–४ मा बस्थ्यो। पछिल्लो समय भने उनको परिवार कटारीबाट बसाइँ सरेर काठमाडौं कपनको तेन्जिङ चोकमा बस्दै आएको छ।
एसएलसी दिँदै गरेको समयमा पनि उनी कटारी प्रहरीको खोजी सूचीमा थिए। स्थानीय व्यवसायीहरुलाई धम्क्याउने र तत्कालीन माओवादी युवा संगठन वाइसिएलको नाम लिँदै व्यवसायीबाट रकम असुल्ने गरेको बुझिएको छ।
उनले केही युवा जम्मा पारेर आफ्नो समूह बनाई फसेको पैसा उठाउने र त्यसबाट कमिसन लिनेसमेत गरेको बुझिएको छ। यसैगरी उदयपुरको चुरे जंगलबाट हुने काठ तस्करीमा समेत उनको नाम जोडिएको थियो।
आफ्नो सञ्जाल विस्तार गर्दै उनले तराईसम्म पुर्याएका थिए। तराईमा उनले आफूलाई ‘शिवा’ भनेर चिनाएका थिए। अहिले पनि उनलाई चिन्नेले ‘शिवा’ नामबाटै चिन्छन्।
तराईमा आपराधिक क्रियाकलाप गर्नकै लागि २०६७ साल जेठमा संयुक्त क्रान्तिकारी मुक्ति मोर्चा नामक संगठन खोलिएको थियो। उक्त संगठनको थापा महासचिव थिए। त्यसबेला हालका आइजिपी सर्वेन्द्र खनाल धनुषा प्रहरी प्रमुख थिए। उक्त संगठन गठन भएको भोलिपल्टै खनाल नेतृत्वको प्रहरीले महासचिव थापा र उक्त समूहका सैन्यप्रमुख ज्वालामुखी उपनामका सिरहा बडहरामाला–३ बस्ने १९ वर्षीय वीरेन्द्र सदालाई पक्राउ गरेको थियो।
जाँचका क्रममा प्रहरीले दुवैलाई धनुषाको ढल्केबर–३ बाट त्यसबेला हतियारसहित पक्राउ गरेको थियो। त्यसबेला प्रहरीले उनीहरूका साथबाट नाइन एमएमको सिक्सर पेस्तोल एक थान, एक राउन्ड गोली, संयुक्त क्रान्तिकारी मुक्ति मोर्चा हस्तलिखित पत्र र तीन थान मोबाइल बरामद गरेको थियो।
त्यसबेलाका धनुषाका एसपी सर्वेन्द्र खनालले गरेको पत्रकार सम्मेलनमा पक्राउ परेका थापासहित दुवैले सिरहा, धनुषा, महोत्तरी, उदयपुर र सिन्धुलीमा पार्टी विस्तार गरेर सदरमुकाममा बम विस्फोट गराउने योजना बनाएको स्वीकार गरेका थिए।
पक्राउ परेका उनलाई हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न महोत्तरीको जलेश्वर कारागार पठाइएको थियो। २०६७ असार १८ गते पुर्पक्षका लागि जेल चलान भएका थापा झन्डै एक वर्षपछि २०६८ बैसाख १८ गते धरौटीमा रिहा व्यक्ति हुन्।
चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा गोविन्द केसी १६औं अनसन बस्न इलाम पुगे। पुस २५ देखि उनले आमरण अनसन थाले। त्यसको दुई दिनपछि एक युवकले पनि इलाम चोक बजारको लाकुरी चौतारामा अनसन थाले।
उनको अनसनको उद्देश्य भने डा केसीको भन्दा भिन्न छ। डा केसीका मागसँग असहमति जनाउने पक्षका लागि विजय थापाको अनसन बलियो बहाना भएको छ। डा केसीसँग विपरीत माग राखेका उनलाई थापाका सहकर्मी तथा ‘टोले गुन्डा’हरुकले ठाउँ ठाउँमा प्रर्दशन गरिरहेका छन्।