कांग्रेस संस्थागत ढंगले नचलेकै कारण कमजोर भएको हो

रिपोर्ट नेपाल | 2019 Jun 03 | 12:09 pm 2053

काठमाडौं, जेठ २०: नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् संघीय संसदका सदस्य प्रकाशमान सिंहले कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने भएकोले त्यसका लागि पार्टीलाई संस्थागत ढंगले परिचालन गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

सोमबार आफ्नै निवासमा विभिन्न जिल्लाका सम्पर्क समिति अध्यक्ष एवम् पदाधिकारीसँगको भेटघाटका क्रममा नेता सिंहले संघीय संविधान जारी गराउँन सबै भन्दा महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसको संगठन संघीय प्रणाली अनुसार ढल्न नसक्नु नै संगठन कमजोर भएको बताए ।

संविधान अनुसार पार्टीलाई ढाल्न नसकेकै कारण अहिले चलिरहेको जागरण अभियान जति प्रभावकारी हुनुपर्ने हो त्यो हुन नसकेको नेता सिंहले बताएका थिए । पार्टी संस्थागत ढंगबाट चल्न नसकेकोले पनि कांग्रेसको पार्टी लथालिङ्ग भएको सिंहको आरोप रहेको थियो । व्यक्तिगत स्वार्थ अनुरुप नेतृत्व अघि बढेकोले आम कार्यकर्ता माझ निराशा छाएको पनि नेता सिंहले भेटको अवसरमा बताएका थिए ।

आफूले पटक पटक पार्टीको हितका लागि संस्थागत कुरा गर्दा नेतृत्वले गलत बुझेको पनि नेता सिंहको भनाई रहेको थियो । मुलुकमा दुई तिहाइको सरकारले अधिनायकवादी शैलीबाट अघि बढ्दा र दिनप्रतिदिन मुलुक जटिलता तर्फ अघि बढ्दा समेत कांग्रेस निरिह हुनु दुर्भाग्यको विषय भएको नेता सिंहले उपस्थित पदाधिकारीलाई बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.