कांग्रेस बैठक जारी : विधानको मस्यौदा पेस हुने

| 2018 Nov 25 | 12:29 pm 1742

काठमाडौं, मंसिर ९ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय बीपीनगर सानेपामा सुरु भएको छ। आइतबार बिहान ८:३० बजे बैठक बोलाइए पनि दुई घण्टा ढिला गरी बैठक सुरु भएको पार्टी कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा महामन्त्री तथा विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधानको मस्यौदा पेस गर्ने कार्यक्रम रहेको छ ।

लमो समयदेखि मस्यौदामा जुधिरहे पनि सहमति जुट्न नसकेपछि महामन्त्री खड्काले फरक मतसहितको विधानको मस्यौदा केन्द्रीय कार्यसमितिमा पेस गर्ने छन् ।

पदाधिकारी र संसदीय समितिको संख्याका साथसाथै चयन प्रक्रिया, अनुशासन समिति, पार्टीको सदस्यता लगायतका विषयमा मस्यौदा समितिमा सहमति जुट्न नसकेपछि केन्द्रीय समितिमै दफावार छलफल हुनेछ ।

महामन्त्री खड्काले विधानको मस्यौदा पेस गरेपछि पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि दिइने छ । यससंगै फेरि केही दिन मस्यौदा पढ्नका लागि सदस्यहरुले समय पाउने छन् । त्यसपछिमात्र फेरि केन्द्रीय समितिको बैठक बस्ने र निरन्तर छलफल हुने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.