काठमाडौँ मंसिर १९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्याललाई नेकपाका कार्यकर्ताले गरेको दुर्व्यवहारबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरवहादुर देउवाको निवास बुढानिकलकण्ठमा २ बजे बस्ने बैठकमा बुधबार वरिष्ठ नेता पौडेललाई तनहुँमा भएको दुर्व्यवहारबारे छलफल हुनेछ ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको पदाधिकारी बैठकमा सरकारले शक्तिको दूरूपयोग गरी वरिष्ठ नेता पौडेललाई गरेको दुर्व्यवहारमा के गर्ने भन्ने रणनीति तय हुनेछ ।
व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल उद्घाटन गर्न पुगेका पौडेललाई निषेधाज्ञा अवज्ञा गरेको भन्दै प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएको थियो । दुई वर्षअघि नै निर्माण सकिएको सो पुल विवादकै बीच पौडेलले बिहिबार उद्घाटन गरेका छन् ।