गुल्मी फागुन १७ः नेपाली कांग्रेस गुल्मी क्षेत्र नं.२ का महाधिवेशन प्रतिनिधि एवं युवा नेता कृष्ण प्रसाद सापकोटाले राज्यका संचालकको असक्षमताका कारण शिक्षा जस्तो पवित्र कार्यका लागि विभिन्न पिठमा रहेका पिठाधिसलाई गुहार्नु पर्ने दुर्भाग्य भएको बताएका छन् ।
नेता सापकोटाले गुल्मीको अर्लाङ्कोटमा रहेको जनज्योती आधारभुत विद्यालयको स्तरबृद्धीका लागि आयोजित धनधान्याचल विराट महायज्ञमा उक्त कुरा बताएका हुन् ।
१००८ स्वामी ज्ञानानन्द संरस्वती महाराजको संरक्षकत्व र १००८ स्वामी विवेकानन्द सरस्वती महाराजको संरक्षकत्वमा आयोजित महायज्ञमा बोल्ने प्राय वक्ताले राज्यले शिक्षा क्षेत्रमा उदासिनता देखाएको आरोप लगाएका थिए ।
झण्डै एक हजार मुरी धान र दुई करोड भन्दा माथी नगद प्राप्त भएको महायज्ञमा हजारौंको उपस्थिति रहेको थियो । आधारभुत विद्यालयलाई माध्यमिक तहको बनाउनका लागि आयोजित महायज्ञमा कांगेस नेता कृष्ण प्रसाद सापकोटाले १ लाख १ हजार १ सय सात रुपैयाँ सहयोग गरेका थिए । नेता सापकोटालाई जिल्ला समन्वय समिति गुल्मीका सभापति दोर्ण खत्रीले सम्मान सहित प्रमाणपत्र प्रदान गरेका थिए ।