बुटवल, असार १६ः मंगलबार साँझ नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाई तथा त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक सह प्राध्यापक डा शंकर प्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
उनको रुपन्देही देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी मृत्यु भएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।
भण्डारीसहित उनका आफन्ती थानेश्वर भण्डारी सवार कार बुढाबास भन्ने स्थामा रहेको कल्भर्टबाट खसेको थियो ।
दुर्घटनापछि गम्भीर घाईते भण्डारीलाई उपचारका लागि बुटवल अवस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ल्याएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
मंगलबार साँझ करिब साढे ८ बजे भएको उक्त दुर्घटनामा परेका थानेश्वरको भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।