काठमाडौं, असोज २७: नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ ।
बास्तोला झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा थिए । उनको शनिबार नर्भिक अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ।
उनको शव आइतबार अन्तिम श्रद्धान्जलीका लागि राखिने समेत जनाइएको छ। १४ पुस २६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोला बेहोस भएका थिए ।
२०६९ पुस १४ गते मोरङ विराटचोकको कुलपूजामा भाग लिँदैगर्दा ७४ वर्षीय नेता बाँस्तोलालाई मस्तिष्काघात (ब्रेन ह्यामरेज) भएको थियो। त्यसयता उनी अचेतको अचेत ढलिरहेका थिए। कहिले सिलिगुडी, कहिले मेदान्त अस्पताल गुडगाँव, कहिले न्युरो अस्पताल बाँसबारी र पछिल्लो समय घरैमा उनको उपचार गरिएको थियो।
उनी नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेस राजनीतिमा एउटा खास नेता थिए। बीपीले आफ्ना सबै राजनीतिक पुस्तकमा उनको नाम पटक–पटक लिएका छन्। चक्रलाई छुटाएर कांग्रेसको क्रान्तिकथा लेखिनै सक्दैन। दरबार हत्याकाण्ड हुँदा गिरिजाप्रसाद क्याबिनेटका परराष्ट्रमन्त्री थिए बाँस्तोला। उनी भारतका लागि नेपाली राजदूतसमेत बनेका थिए।