काठमाडाैं, असार २३: नेपाली कांग्रेस केन्द्रीय समिति बैठक एजेण्डा मात्र पेश गरी सम्पन्न भएको छ । बैठकमा नियमावली मस्यौदा, संघीय संरचना अनुसारको संरचना निर्माण, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई पुर्णता दिने, पहिलो चरणको जागरण अभियानको समीक्षा गर्ने, राष्ट्रिय राजनीतिको विकसित घटनाक्रम लगायत १४ वटा एजेण्डा माथि छलफल गरिने भएको छ ।
आइतवार साँझ ढिलो गरी शुरु भएको बैठक अब २७ गते बस्ने भएको छ । हिजो अपरान्ह दुई बजे बोलाइएको बैठक पदाधिकारी बीच सहमति नहुँदा साँझ सात बजे मात्र शुरु भएको थियो । बैठकमा पार्टीको १४औं महाधिवेशनको मिति तय गर्ने बारे पदाधिकारी बीच विवाद रहेको छ ।
यो केन्द्रीय कार्यसमितिको चारवर्षे अवधि आउँदो फागुनमा सकिदैछ । विशेष परिस्थिति भन्दै एकवर्ष म्याद थप्न पाउने कांग्रेस विधानमै उल्लेख छ भने संविधानअनुसार कम्तिमा साढे पाँचवर्ष भित्र अधिवेशन गरिसक्नुपर्ने उल्लेख छ ।
सामान्यतयः अब नौ महिनापछि महाधिवेशन गर्नु पर्ने भएकोले संस्थापन इतर पक्षका शीर्ष नेताहरु अब महाधिवेशनको कार्यतालिका बनाउनु पर्ने पक्षमा छन भने संस्थापन पक्ष भने अहिले नै हतार नभएको भन्दै विधानले दिएको सुविधा उपभोग गरी एकवर्ष कार्यकाल लम्ब्याउने पक्षमा छन् । शीर्ष नेताहरुको लामो रस्साकस्सी पछि केन्द्रीय बैठकमा पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने एजेण्डा पेश भएको छ ।
बैठकबारे जानकारी दिदै केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले बैठकमा महामन्त्री पुर्णवहादुर खड्काले विभिन्न १४ वटा एजेण्डा प्रस्तुत गरिएका बताए । नियमावली मस्यौदा सहित सबै एजेण्डामाथि अध्ययन गर्न सदस्यहरुलाई समय चाहिने भएकोले अब बैठक २७ गते बस्न लागेको उनको भनाइ थियो । नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको ‘नेपाली कांग्रेसको नियमावली, २०७६’ समितिका संयोजक केन्द्रीय सदस्य रमेश लेखकले प्रस्तुत गरेका थिए ।
बैठकमा विधानको व्यवस्थाअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण गर्ने, २०७६ बैशाख २५ देखि जेष्ठ २५ सम्म सञ्चालन भएको पहिलो चरणको हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको एकिकृत प्रतिवेदन प्रस्तुत गरिने र नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गरिने एजेण्डा पनि पेश भएको छ ।
बैठकको अन्य एजेण्डाहरुमा केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरिने र नेपाली कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिने पनि एजेण्डा रहेको छ । अब बस्ने कांग्रेस बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने सम्बन्धमा एवम् पार्टी विधानअनुसार अवधि समाप्त भएका भातृ संघहरुका सम्वन्धमा पनि निर्णय लिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेस बैठकले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नीतिगत निर्देशन गर्ने सम्बन्धमा पनि छलफल हुने भएको छ । साथै, तनहुँ जिल्लामा अबैध रुपमा गठन भएको नेपाली कांग्रेसको समानान्तर समिति र कार्यालयका सम्वन्धमा पनि केन्द्रीय समिति बैठकले निर्णय लिने भएको छ । नेपाल समाचारपत्रबाट