कांग्रेसले बनायो छाया सरकार, को-को भए ‘मन्त्री’ ? (सूचीसहित)

| 2019 May 20 | 05:36 pm 1478

काठमाडौं, जेठ  ६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कामकारवाहीलाई निगरानी राख्नकाे लागि छाया सरकार गठन गरेकाे छ । सोमबार कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले मन्त्रालयहरुको काम निगरानी गर्न मन्त्रालय स्तरीय समन्वय समिति (छाया सरकार) गठन गरेका हुन् ।

संसदीय व्यवस्था भएको मुलुकहरुमा छाया सरकार बनाउने प्रचलन छ ।  साेहि अनुरुप सभापति  देउवाले पनि संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छाया सरकारको रुपमा काम गर्न मन्त्रालयस्तरीय समन्वय समिति बनाएका हुन् । नेपालमा २०४८ मा तत्कालीन एमालेले छाया सरकार बनाएको थियो तर, पछिल्लो समय यसले निरन्तरता पाएन ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडका अनुसार हरेक मन्त्रालयस्तरीय समन्वय समितिमा संयोजक र दुई सदस्य तोकिएको छ । उनीहरुले मन्त्रालयको कामकारबाहीको निरगानी गर्नेछन् ।

Image may contain: 21 people, people smiling

शेरबहादुर देउवा नेतृत्वको छाया सरकारमा दिलेन्द्रप्रसाद बडू गृह मन्त्रालयस्तरीय समितिको संयोजक तोकिएका छन् । अर्थात उनी छाया गृहमन्त्रीको रुपमा रहनेछन् ।

यस्तै मिनेन्द्र रिजाल अर्थ, नारायण खड्का परराष्ट्र र ज्ञानेन्द्रबहादुर कार्की उर्जा संयोजक भएका छन् । उमाकान्त चौधरी शहरी विकास, किशोर सिंह राठौर युवा तथा खेलकुद, मीन विश्वकर्मा उद्योग, बाणिज्य तथा आपूर्ति र गगन थापा शिक्षा, विज्ञान तथा प्रवृधि मन्त्रालस्तरीय समितिको संयोजक तोकिएका छन् ।

छाया सरकारको खानेपानीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्र कँडेल, श्रममा डिला संग्रौला, सञ्चार समितिको संयोजकमा बहादुर सिंह लामा तोकिएका छन् ।

यस्तै भूमिसुधार मन्त्रालयमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयमा राधेश्याम अधिकारीलाई छाया मन्त्री तोकिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.