कांग्रेसले बनाएको अर्थ नीतिले देश चलिरहेको छ

रिपोर्ट नेपाल | 2019 Apr 13 | 07:49 pm 2140

काठमाडौं, चैत्र ३० : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद बद्री पाण्डेले कांग्रेसले २०४८ सालमै बनाएको अर्थ नीतिले मुलुक चलिरहेको बताएका छन्। नेपाली कांग्रेस डोटी काठमाडौं सम्पर्क समितिले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन समारोहमा बोल्दै नेता पाण्डेले दूई तिहाई बहुमत हुँदा पनि वर्तमान सरकारले कुनै उपलब्धि हासिल गर्न नसकेको र कांग्रेसले नै कोरेको बाटोमा हिडिरहेको बताएका हुन्।

‘रकमी पाराले मिलायर खाने एमाले र हुकुमे पाराले खाने माओवादीबिचको एकतामा विश्वासको खाडत देखिएको छ’, उनले भने, ‘यसले नेपाली राजनीतिमा निकास दिन नसक्ने प्रस्ट छ।’ राजनीतिक निकास र समृद्धि कांग्रेसबाट मात्र सम्भव भएको बताउँदै नेता पाण्डेले कांग्रेसले पनि एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताए।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै समयमा राष्ट्रघाति भन्ने उपेन्द्र यादव अहिले सरकारमा सँगै छन्’, उनले भने, ‘सत्ता बाहिर हुँदा राष्ट्रघाती भन्ने र अहिले काखी च्यापेको देख्दा को राष्ट्रवादी को राष्ट्रघाती छुट्याउनै गाह्रो भयो।’

यस्तै पूर्वमन्त्री विरबहादुर बलायरले ओलीको दरवारमा प्रचण्डको बसाई सहज नहुने टिप्पणी गरे। फरक प्रसंगमा बोल्दै नेता वलायरले कांग्रेसमा पनि केन्द्रका नेताहरुबिचको मेसो नमिल्दा समस्या उत्पन्न भएको बताए। उनले केन्द्रका नेता मिले तल्लो तहसम्मको गुट आफै समाप्त भएर जाने बताए। कार्यसम्पादन सतितिको गठनका सम्वन्धमा कार्यकर्ता नचिन्ने नेतलाई नेताको भविश्य बनाउने ठाउँमा राख्नु गलत भएको उनको तर्क छ। कार्यसम्पादन समितिमा युवाको प्रतिनिधित्व हुनुपर्ने समेत उनको ठहर छ।

यस्तै नेता प्रदिप पौडेलले वर्तमान सरकार पशुपति शर्माको गीतमा भनिएझै लुट्न सके लुट ढाचामा चलेको आरोप लगाए। उनले कांग्रेसले पनि सशक्त प्रतिपक्षको भूमिका निर्माव गर्न नसकेको गुनासो गरे।

कार्यक्रममा कांग्रेस नेता भक्त बहादुर बलायर, नेपाली कांग्रेस डोटीका पूर्व उपसभापति दिपक विस्ट, चरुणदका पूर्व केन्द्रीय सदस्य राम बहादुर रोकाया, डोटी काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष दिर्घ बलायर, प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य मुकुन्द भण्डारीलगायतले आफ्‍ना धारणा राखेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.